नागरिकता बनाइदिन हारगुहार गर्दै हरिणमरीका नागरिकताविहीन महिला (बायाँ), सरकारी सेवासुविधाबाट वञ्चित हुनुपरेको पीडाले भक्कानिँदै जागोदेवी चमार । राजकरण महतो
हरिणमरी: निर्वाचनको मिति नजिकियो । भोट कसलाई हाल्ने भनी अन्तिम मन्थनमा छन् मतदाता । हरिणमरीकी ६० वर्षीया जागोदेवी चमार भने निर्वाचन नजिकिएसँगै चिन्तामा छिन् । उनका समवयीहरू भोट खसाल्न जाने तयारीमा छन् । उनले भने मतदान गर्न नपाउने भएकी छन् ।
‘मेरा लागि चुनाव नआए पनि हुन्थ्यो’, उनी भन्छिन् । छिमेकीले मतदान गरेर नेता चुन्दा उनी नगरिकता नभएपछि मतदानबाटै वञ्चित छिन्् । निर्वाचनका बेला अरू खुसी हुँदा उनको मन भने पोल्न थाल्छ ।
नागरिकता नभएकै कारण उनको नाम मतदाता नामावलीमा समावेश छैन । नागरिकता बनाउनकै लागि उनी १० वर्षदेखि भौतारिँदै आएकी छन् । दैलोमा भोट माग्न आउने नेताहरूलाई उनले नागरिकता बनाइदिन गुहार माग्छिन् । तर, उनको पीरमर्का कसैले बुझेका छैनन् ।
उनका श्रीमान् सत्यनारायण चमारको मृत्यु भएपछि उनी समस्यामा परेकी रहेछन् । ‘ श्रीमान्को नागरिकता छैन । त्यसैले मेरो नागरिकता बन्दैन । उहाँ मरेर जानुभयो । अब कहाँबाट कागजपत्र ल्याउनु ? ‘, उनले गहभरि आँसु पार्दै भनिन् ।
उनकी १९ वर्षीया एक छोरी छिन् । छोरी शारीरिक रूपमा अपांगता भएकी छन् । बनिबुतो गरेर गुजारा चलाउँछिन् । ‘नागरिकता नभएर भोट पनि खसाल्न पाएको छुइन । सामाजिक सुरक्षा भत्ता पनि दिँदैनन्’, उनी भन्छिन्,‘सन्तानको जन्मदर्ता छैन ।’
मतदान केन्द्रमा पुगेर भोट खसाल्ने उनको धोको छ । गरिबको पक्षमा काम गर्ने नेता चुन्ने र सामाजिक सुरक्षा भत्ता थाप्ने आशामा छिन् उनी । ‘नागरिकता छैन, भोट कहाँबाट हालौं’, उनी भन्छिन् ।
जागोजस्तै पीडामा छिन् छिमेकी अघनीदेवी सदा । उमेरले ६२ वर्ष पुगेकी अघनीको नागरिकता अहिलेसम्म बन्न सकेको छैन । अघनी पनि एकल महिला हुन् । नागरिकता नबन्दा उनी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ ।
भोट माग्न आएका नेताहरूलाई उनले प्रश्न गरिन्, ‘नागरिकता भए पो भोट दिइन्छ, छैन कसरी दिनु ? नागरिकताबिना मतदाता नामावलीमा नाम जाँदैन । नागरिकता बनाइदिनुपर्यो ।’ उनका सन्तानले पनि नागरिकता पाउन सकेका छैनन् । उनी भन्छिन्, ‘मर्नुभन्दा पहिला मेरो नाम भएको नागरिकता हेर्ने मन छ । भोट खसालेर उक्मेदवार चुन्ने सपना छ ।’
रेश्मा सदा पनि नागरिकता नपाएर चिन्तित छिन् । चार पुस्तादेखि हरिणमरीमा उनको बसोबास छ । श्रीमान् बितेको वर्षौं भयो । उनका श्रीमान्को पनि नागरिकता थिएन । आवश्यक कागजपत्र जुटाउन नसक्दा उनको नागरिकता बन्न सकेको छैन । ‘नेताहरू घरमा भोट माग्न आउँछन् । नागरिकता बनाउने आस देखाउँछन् । गाउँबाट भोट लिएर गएपछि फर्केर आउँदैनन्’, उनी भन्छिन् ।
नागरिकता नहुँदा वर्षौंदेखि मतदानबाट वञ्चित रहँदै आएका दलित समुदायका जागो, अघनी र रेश्मा प्रतिनिधि पात्र मात्र हुन् । हरिणमरीका गरिब, दलित, भूमिहीन सुकुम्बासीको नागरिकता नहुँदा मतदानबाट वञ्चित छन् ।
नागरिकता नभएपछि पासपोर्ट बनाएर वैदेशिक रोजगारीमा जान नपाएको सुवदी सदा मुसहरको दुखेसो छ । ‘हामीसँग नागरिकता छैन । सरकारको सेवासुविधाबाट टाढै बस्नुपर्छ । दुःख कसले सुनिदिन्छन् ? ‘, उनको प्रश्न छ । आसन्न निर्वाचनमा हरिणमरीका मतदाता गरिबको पीर मर्का बुझ्ने उम्मेदवारको खोजीमा छन् ।