699 views 0 secs 0 comments

राणा र राजासँग नडराएको कांग्रेस एमाले–माओवादीसँग डराउँदैन : दमननाथ ढुंगाना

In देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार १२:३४

नेकपा एमाले र माओवादी केन्द्रबीचको कम्युनिष्ट गठबन्धनले आगामी चुनावमा नेपाली कांग्रेसलाई चुनौति र अवसर दुवै स्थिति एकसाथ सिर्जना भएको छ । 

दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको चुनावी तालमेल र चुनावपछि हुने पार्टी एकीकरणको तयारीले कांग्रेसलाई चुनौति थपिदिएको छ ।

कांग्रेसले यसअघिका चुनावमा भन्दा अहिले टिकट वितरणमा योग्य र सक्षम व्यक्तिलाई दिएको हुनाले अन्तरघात नहुने, आफ्नो मत कसैलाई नजाने तर्क गर्दै ठूलो पार्टी हुने दाबी गरेको छ ।

यस्तै भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उमेदवारका लागि चुनावी मैदानमा उत्रिएका दमननाथ ढुङ्गानासँग चुनाव जित्ने आधार, आगामी योजना र एजेण्डा साथै चुनावी तयारीका विषयमा बाह्रखरीका सुरञ्जन घिमिरेशिवनारायण गिरीले गरेको कुराकानीः    

मतदानको मिति नजिकिँदै छ, प्रचार प्रसार कस्तो भैरहेको छ ?

तयारी सामान्यतः हुनुपर्नेजति भएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई ख्याल राख्दै प्रचार–प्रसारलाई मसलेदार, रङ्गीचङ्गी र फूलबुट्टा भर्ने काम गरेका छैनौं । हामी आफ्नै ढङ्ग र शैलीको प्रचार–प्रसार र तयारी गरिरहेका छौं ।

वाम गठबन्धन बनेपछि कांग्रेस उमेदवारमा एक किसिमको मनोवैज्ञानिक त्रास सिर्जना भएको हो ?

नेपाली कांग्रेस अन्य पार्टीका कुनै पनि तानाबुना, जोडघटाउ, रस्साकस्सी र लोभलालच देखेर आत्तिने, डराउने र तर्सिने पार्टी होइन । त्यो चाहे राणाहरुसँग प्रजातन्त्र चाहियो भनेर लड्दा होस् चाहे माओवादीले जङ्गलमा बन्दुक पड्काउँदै गर्दा होस् । चाहे ज्ञानेन्द्रले सत्ता हत्याउँदा होस् चाहे संविधान निर्माणका क्रममा देखिएका अन्तर्विरोधलाई मिलाउने कुरामा होस् । यी कुनै पनि कुरा र तत्वसँग नडराएको नेपाली कांग्रेस एमाले र माओवादी केन्द्र केहीबेर मिले भनेको सुन्दैमा किन आत्तिन्छ ?
देब्रे ढल्कुवा साथीहरुले वामगठबन्धनका कारण कांग्रेसमा चुनाव हारिने मनोवैज्ञानिक त्रास छ भनी हल्ला पिट्नु उहाँहरुकै संकुचित सोचाइको पराकाष्ठा हो ।

मतदाताका अगाडि के–कस्ता एजेण्डा, योजना र प्रतिवद्धताका साथ गइरहनु भएको छ ?

मेरा त्यस्ता कुनै महत्वाकांक्षी योजना छैनन् । स्मार्ट सिटी बनाउने, हावाबाट बिजुली निकाल्ने भन्दै मतदातालाई भुल्याउन र ठूला सपना बाँड्न म चाहन्नँ ।
यहाँका सडकमा खाल्डा छन् तिनलाई पुर्नु, प्रत्येक घरमा खानेपानी पु¥याउनु, यहाँको बसोबासलाई वैज्ञानिक र व्यवस्थित बनाउनु, खुला दिशामुक्त क्षेत्र घोषणा गर्नु नै मेरा योजना हुन् ।

हामी सबैलाई थाहा भइआएकै कुरा हो भक्तपुर सांस्कृतिक, पुरातात्विक, धार्मिक, ऐतिहासिक र पर्यटकीय नगरी हो । यसर्थ यही आधारलाई मान्दै भक्तपुरलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन सकिन्छ ।

तर, मैले जनताका घरदैलोमा पुगेर यस्ता ठूला योजना बाँडेको छैन । यहाँका भूकम्पपीडितले आजसम्म क्षतिपूर्ति पाउन नसकिरहेको अवस्थामा मेरो विजयपश्चात यहाँका जनतालाई भूकम्पले पुर्‍याएका आधारमा क्षतिपूर्ति प्रदान गर्न पहल गर्नेछु । परम्परागत सीप र शैलीलाई आधुनिकीकरण गर्दै ऐतिहासिक संरचनाको पुनर्निर्माण र मेलम्ची खानेपानी आयोजनाको काम छिटोभन्दा अगाडि बढाउने मेरा थप योजना हुन् ।

लामो समयदेखि राष्ट्रिय राजनीतिमै हुनुहुन्छ । भक्तपुरकै स्थानीयबासीका आधारमा पनि उल्लेखित काम कारवाही किन अगाडि बढाउनु भएन ?

मैले राजनीति सीमित भुगोलभन्दा पनि समग्र देशकै हक र हितका लागि गर्दै आएको छु । यसो भनिरहँदा सक्रिय राजनीतिमा रहँदा मैले यस क्षेत्रका लागि केही गर्नै सकिनँ वा गरिनँ भन्ने होइन ।

मतदाताले तपाईंलाई भोट दिने आधार के के छन् ?

स्थानीय सरकारसँग हातेमालो गरेर काम गर्नेछु । स्थानीय सरकारलाई सहयोग गर्दै विकासका गतिविधि अगाडि बढाउनेछु । प्रदेश सरकारसँग पनि म त्यसैगरी समन्वय र सहकार्य गर्दै अघि बढ्छु । केन्द्रिय तहमा बसेर भक्तपुर जिल्लाको विकासको लागि बजेट, योजना ल्याउँछु ।

अनि त्यसलाई प्रदेश र स्थानीय सरकारसँग मिलेर यसक्षेत्रमा प्रवाहित गर्छु । तीन तहमै मिलेर काम गर्ने मेरो लक्ष्यप्रति यहाँका मतदाता विश्वस्त रहनु नै मैले भोट पाउने आधार हो ।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार एमाले अगाडि छ । यसरी हेर्दा तपाईंको चुनाव जित्ने आधार कमजोर देखियो नि, हैन ?  

यो पार्टी ऊ पार्टीभन्दा पनि विधिवत निर्वाचित प्रतिनिधि मेरो पनि प्रतिनिधि भएकाले स्थानीय तहका मेयर, उपमेयरहरुसँग समन्वय र सहकार्य गर्न मलाई कत्ति पनि अफ्ट्यारो छैन ।

जसरी हुन्छ तीनवटै निकायसँग मिलेर भक्तपुरको विकास गरिछाड्नु अबको निर्वाचनमा मेरो एजेण्डा भएकाले यस एजेण्डाप्रति म वफादार भएर काम गर्नेछु ।
स्थानीय तहमा एमाले अगाडि देखिएको कुरालाई मैले स्वीकारेको छु । मतदाताको चाहना र यहाँको विकासप्रति स्थानीय तहका जुनसुकै पार्टीका साथीहरुसँग पनि म मिलेरै अगाडि बढ्न चाहन्छु र सक्छु पनि । यसर्थ मेरो चुनाव जित्ने आधार कमजोर होइन, बलियो छ ।

भक्तपुरलाई प्रदेश नम्बर तीनको राजधानी बनाउँछु भन्दै हुनुहुन्छ, यसका प्रमुख आधार के–के हुन् ?

अहिले मुलुककै राजधानी रहेको काठमाडौं धमाधम पूर्वै सरिरहेको छ । बनेपा, धुलिखेल, नगरकोट, साँगा, भक्तपुर व्यापारिक र पर्यटकीय क्षेत्रमा धेरै अगाडि बढिसकेका छन् । अबको केही वर्षमा यहाँ खाली जग्गा भेट्टाउन गाह्रो भइसक्नेछ । यो सम्भावना नै एउटा प्रमुख आधार हो ।

अर्को आधार भनेको वीपी राजमार्ग भएर पूर्वी जिल्लाबाट दैनिक सयौंको संख्यामा यही जिल्ला हुँदै सवारीसाधन भित्रिरहेका छन् ।

भक्तपुरमै स्तरीय हस्पिटल, अपार्मेन्ट, क्याम्पस, खोल्नका लागि नसकिने कुनै कुरा छैनन् । अर्को अर्थमा भन्नुपर्दा बिस्तारित काठमाडौं नै भक्तपुर हो । काठमाडौं साँघुरो र अव्यवस्थित पनि भइसक्यो । यसर्थ अब प्रदेश नम्बर तीनको राजधानी भक्तपुर बन्नेमा कुनै संकोच छैन ।

चुनावका बेला मतदातालाई विकासका विभिन्न वचनवद्धता दिने तर जितेर गएपछि तिनै मतदातालाई फर्केर नहेर्ने उमेदवारको बानीप्रति मतदाताहरु निराश छन्, तपाईंका प्रतिवद्धताप्रति मतदाता कत्तिको विश्वस्त हुने ?

मैले माथि पनि भने नेपाली कांग्रेसले गर्न नसक्ने कुनै पनि महत्वाकांक्षी प्रतिवद्धता मतदातासमक्ष ल्याएका छैन । व्यक्तिगत रुपमा मैले पनि त्यस्ता किसिमका कुनै योजनाहरु ल्याएर मतदाता भुल्याउने, छक्याउने काम गरेको छैन ।

आज गर्छु, गर्छु भनेर भोलि गरेर देखाउन सकेन भने नेपाली कांग्रेस, दमननाथ ढुङ्गानाप्रति मात्र होइन सम्पूर्ण नेताप्रति मतदाताको वितृष्णा पैदा हुन्छ ।

यस कुरामा सबै राजनीतिक दलले ‘एउटा माघले जाडो जाँदैन’ भन्ने कुरा बिर्सनु हुँदैन । यो सत्यताप्रति नेपाली कांग्रेस जिम्मेवार छ । दमननाथ ढुङ्गाना जिम्मेवार छ ।

मेरा योजना साना भए पनि, सामान्य भए पनि यहाँका मतदाता मेरा यी योजना, एजेण्डा र प्रतिवद्धताप्रति विश्वस्त हुनुहुन्छ । पहिलाको संविधान र राजनीति गराइको शैलीभन्दा अहिलेको संविधानले जनतामा दिएको अधिकार धेरै छ ।

अहिलेका जनता अधिकार सम्पन्न छन् । स्थानीय तहमै सरकार छ । आफ्ना प्रतिनिधिलाई जनताले घरमै गएर भेट्न पाउने भएका छन् ।

अब पहिलाको जस्तो चुनाव जितेर काठमाडौंमा हराउन उमेदवारहरुलाई गाह्रो छ । यसैले अब दलका उमेदवारहरुलाई जनतासामु राखेका प्रतिवद्धताप्रति जिम्मेवार र उत्तरदायी नबनी सुखै छैन, धरै छैन ।