
१८ कार्तिक, काठमाडौँ।
पुतली बाजे नामले चर्चित बेलायती नागरिक (नेपालका सम्मानार्थ नागरिक) कोलिन फिलिप स्मिथको निधन भएको छ।
उनी लामो समय पिसाव सम्बन्धि रोगले थलिएका थिए।
केही दिन शवलाई अस्पतालमै राखेर सोमवार अन्त्येष्टि गर्ने तयारी छ ।
उनले २०७६ मङ्सिरमा नेपालको सम्मानार्थ नागरिकता पाएका थिए । युवा उमेरदेखि नेपालमै बसेर पुतलीको अध्ययन अनुसन्धानमा खटिएका स्मिथ बेलायत नफर्किने निर्णयसँगै नेपालमा रोकिएका हुन् ।
स्मिथ सन् १९३६ नोभेम्बर २४ मा बेलायतको लन्डनमा जन्मेका हुन् । उनी सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षणका लागि नेपाल आएका थिए । गोरखा, काठमाडौं र पोखराका विद्यालयहरुमा उनले अध्यापन गरे । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई समेत स्मिथले अध्यापन गरेका थिए ।
उनले नेपालमा पाइने ६ सय ६० प्रजातिका पुतलीमध्ये ९० प्रतिशत पुतली संग्रह गरेका थिए । स्मिथ पोखरा महानगरपालिका १८ मा जग्गा किनेर बसेका थिए । उनले नेपालकै युवालाई धर्मपुत्र बनाएर पाले । उनी नेपालको सम्मानार्थ नागरिकता पाउने दोस्रो व्यक्ति हुन् । पहिलो नागरिकता सर्वोच्चको सफल आरोहण गरेका एडमण्ड हिलारीले पाएका थिए ।