दुई दिनदेखि बेपत्ता सन्तकुमारको शव फेला

In दुर्घटना
९ कार्तिक २०८०, बिहीबार १३:३७

९ कार्तिक, काठमाडौँ।

रुपन्देहीको मर्चवारमा दुर्गा मूर्ति विसर्जनको क्रममा बेपत्ता भएका २० वर्षीय सन्तकुमार राजभरको शव दुई दिनपछि बिहीबार भेटिएको छ ।

दसैंको दिन कोटहीमाई गाउँपालिका १ अमरगन्जस्थित दुई मुहान नदीमा मूर्ति विसर्जनका क्रममा डुबेर बेपत्ता तीन जनामध्ये कोटहीमाई गाउँपालिका १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय भरको शव सोही दिन भेटिए पनि सोही ठाउँका २० वर्षीय सन्तकुमार राजभर बेपत्ता भएका थिए ।

उनको शव बिहीबार मध्याह्न फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उनको बुधबार बिहानैदेखि कुरिनटारमा रहेको सशस्त्रको नौजनाको गोताखोर टोली र जिल्लामा रहेको सशस्त्र, जनपद र सर्वसाधारणले खोजी गर्दा शव फेला पारेको सशस्त्र प्रहरी २७ नम्बर गण रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बताए ।