685 views 0 secs 0 comments

कोरोना भाइरसको संक्रमणले उत्पन्न समस्याप्रति नेपाली पर्यटनहरुले दुःख व्यक्त…

In विश्व, स्वास्थ्य/जीवनशैली
२१ माघ २०७६, मंगलवार १५:३९

चीनको वुहानबाट देखापरेको कोरोना भाइरसको संक्रमणले उत्पन्न समस्याप्रति नेपाली पर्यटन व्यवसायीहरुले दुःख व्यक्त गरेका छन् ।
होटल संघ नेपाल (हान) र नेपाल भ्रमण वर्ष सचिवालय २०२० ले संयुक्त विज्ञप्तिमार्फत अफ्ठ्यारो परिस्थितिसँग जुध्न चीन सरकारले गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै दुःख व्यक्त गरेका हुन् ।
हानका अध्यक्ष सृजना राणाले भ्रमण वर्षको सुरुवाती महिनामा केही चिनियाँ पर्यटकहरु कम आउने भए पनि होटलमा भएका पाहुनाहरुलाई कोरोना भाइरसको पूर्व सावधानी अपनाउन र संकेत देखिनेबित्तिकै अस्पताल लैजान परिपत्र गरिसकेको बताउनुभयो ।
विश्वमा देखिएको भाइरसको संक्रमणबाट पर्यटन व्यवसायी र नेपाल भ्रमण वर्ष २०२० को सचिवालय विचलित नभइ अन्य छिमेकी मुलुकहरुबाट लक्ष्य अनुसार पर्यटक भित्र्याउन अहोरात्र खटिरहेको उहाँले बताउनुभयो । भात, बंगलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एसिया लगायतका मुलुकबाट पर्यटक भित्र्याउन खटिरहेको जानकारी उहाँले दिनुभयो ।
नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले चिनियाँ पर्यटकहरु कम हुँदा होटल व्यवसायी मात्रै नभएर कृषक र ट्याक्सी चालकहरुलाई समेत समस्या परेको बताउनुभयो । नेपाल भ्रमण वर्षको प्रचारसँगै कोरोना भाइरसका विषयमा पनि सचेत रहन र यसबाट कसरी जोगिने भन्ने विषयमा सन्देश दिन अभियान नै सञ्चालन गरिएको बताउनुभयो ।
गएकाे डिसेम्बरमा चीनमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट ४ सयभन्दा बढीको मृत्यु भएको छ । विभिन्न देशमा २० हजारभन्दा बढी प्रभावित भएका छन् ।