
भक्तपुरमा एक युवकले अन्धाधुन्ध खुर्पा प्रहार गर्दा एक जना प्रहरी हवलदारसहित ४ जना घाइते भएका छन् ।
एक युवकले भक्तपुर–२० स्थित पाइपलाइनमा खुर्पा प्रहार गरी दुई जनालाई घाइते बनाएको सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो ।
घटनास्थलबाट जाजरकोटा नलगाढ घर भएका २० वर्षीय रामबहादुर विकलाई भाग्दै गरेको अवस्थामा पक्राउ गर्न खोज्दा विकले प्रहरीमाथि पनि खुर्पा प्रहार गरेका थिए । घाइते हुनेमा महानगरीय प्रहरी प्रभाग व्यवासीमा कार्यरत प्रहरी हवलदार जितेन्द्र यादव र प्रहरी जवान टोलबहादुर श्रेष्ठ रहेका छन् । त्यस्तै, खुर्पा प्रहारबाट कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र ४५ वर्षीया राजमती ज्याकिबन्जार पनि घाइते भएका छन् । थापाको मध्यपुर अस्पतालबाट थप उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरी उपचार भइरहेको छ भने ज्याकिबन्जारको मध्यपुर अस्पताल भक्तपुरमा उपचार भइरहेको छ ।