532 views 0 secs 0 comments

कर छली गर्ने वीरगञ्जका एक जना व्यापारीलाई जेल चलान…

In समाज
२५ कार्तिक २०७६, सोमबार २०:२८

नक्कली भ्याट बिल प्रयोग गरी १ करोड १५ लाख भन्दा बढी कर छली गर्ने वीरगञ्जका एक जना व्यापारीलाई जेल चलान गरिएको छ । आन्तरिक राजश्व कार्यालय पर्सा, वीरगञ्जले जानकी ट्रेडर्सका प्रोप्राईटर दिपेन्द्र पासवानलाई जेल चलान गरेको हो । ट्रेडर्स मार्फत उनले वीरगञ्जको माईस्थानमा ग्याँस सिलिण्डरको पाटपूर्जा सम्बन्धी कारोबार गर्दै आएका थिए ।
नक्कली भ्याट बिल प्रयोग गरी मुल्य अभिवृद्धि कर (भ्याट) छली गरेको प्रमाणको आधारमा पासवानलाई जेल चलान गरिएको कार्यालयले जनाएको छ । फर्मले आर्थिक वर्ष ०७३/७४ देखि ०७५/७६ ममा विभिन्न चार वटा फर्मको नक्कली भ्याट बिल प्रयोग गरेर भ्याट छली गरेको, ०७१/०७२ र ०७२/७३ मा २ वटा शंकास्पद फर्मबाट खरिद गरेको भनी आय विवरणमा देखाएको तर खरिद पुष्टि गर्ने बिजक प्रमाण पेश गर्न सकेका थिएनन् ।
गलत विवरण पेश गरी कर छली गरेकोले ०७१/७२ देखि ०७५/७६ सम्मको कारोबारको कर ४४ लाख ३० हजार ५ सय २५ रुपैयाँ, त्यति नै जरीवाना, १० लाख ७७ हजार ७ सय ९३ थप दस्तुर र ब्याज १६ लाख १२ हजार ७ सय ५८ रुपैयाँ गरी कार्यालयले १ करोड १५ लाख ५१ हजार ६ सय २८ रुपैयाँ कर निर्धारण गरिएको थियो । कार्यालयले माग गरे बमोजिमको रकम तिर्न नसकेपछि उनी जेल गएका हुन् ।