
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विप्लव नेतृत्वका दुई कार्यकर्तालाई पक्राउ गरेको छ। गल्याङ नगरपालिका–३, गल्याङ बजारबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भीरकोट नगरपालिका–३ का ४६ वर्षीय शिव दर्लामी र ३० वर्षीय मोहन सिंजाली छन्। उनीहरूको शरीर खानतलासी गर्दा विप्लव समूहका विभिन्न दस्तवेज तथा समूहको लेटरप्याड भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रमुख एसपी लम्सालले जानकारी दिए।
घटनाको थप अनुसन्धान गर्दा भीरकोट नगरपालिका–९ मा रहेका दुईतले धनसारबाट एगरगन एक थान, बमजस्तो देखिने वस्तु पाँच थान, चन्दा उठाउने रसिद प्याड एक थान, पार्टी सदस्यता तीन ठेली, गुलेली एक थान, मोबाइल दुईवटा, टर्च लाइट (विदेशी) एक थान, पावर बैंक एक थान र नगद सात सय ३० रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ। उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।