
नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले विकास, पुर्वाधार तथा रोजगारीको सन्र्दभमा सरकारले आधारहिन सपना बाँड्ने काम गरेको बताएका छन्।
प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उनले नाराबाट नभई संसदमा राजनीतिक दलहरुसंग संवाद गरेर सहमतिको बाटोबाट मुलुकको विकास गर्न सुझाव दिए।
सगरमाथा संवाद गर्ने सरकारलाई उनले दलहरुसंगको संवादलाई प्राथमिकतामा राख्न सुझाव दिए। सिंचाई र तटबन्धको ठूला ठूला कुरा गरेर मात्रै कृषिमा आत्मनिर्भर हुन नसकिने भन्दै उनले योजनाबद्ध आधारशिला तयार पार्नुपर्नेमा जोड दिए।
उनले गणतन्त्र र संघीयता कमजोर बनाउने बाटोमा, लोकतन्त्रलाई बलियो बनाउने नभई आधारभुत संरचनालाई कमजोर बनाउने र नीतिगत प्रष्टता नराखी लामो फेयरिस्त राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरे।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भाषा, शैली र सम्बोधनलाई विगतकै राजतन्त्रको परम्परामा हिड्ने काम गरेको आरोप लगाए। उनले भाषागत र शैलीको कुरा मात्रै नभई प्रधानमन्त्रीले राष्ट्रपतिलाई विवादमा ल्याउने र आम जनताकाबीच शंका र आलोचनाको पात्र बनाउने काम गरेको भन्दै त्यसो नगर्न आग्रह गरे।
उनले भने– “गणतन्त्रलाई यो सरकारले जोगाउँछ कि जोगाउदैन भनेर सांच्चै आंशका पैदा भएको छ। यो सरकार नेपालको सरकार हो। नेपालको संविधानले नेपालको कार्यकारीणी अधिकार नेपाल सरकारको नाममा प्रयोग हुने भनेर लेखेको छ कसैको मेरो सरकारको नाममा होइन। जनतालाई आश्वस्त गर्नुहोस्। जनता विश्वास गर्दैन। ”
उनले सरकारले संघीयताको पक्षमा एउटा पनि ठोस प्रतिवद्धता जाहेर नगरेको टिप्पणी गरे। उनले लोकतन्त्रप्रति नै सरकार इमान्दार नभएको दाबी गरे। उनले भने, “संघीयतालाई कमजोर बनाउदा देश कमजोर हुन्छ। राष्ट्रियता कमजोर हुन्छ। यो गल्ति नगरोस्।”
नीति तथा कार्यक्रममा उल्लेख गरिएको शब्द र भाषा प्रति पनि उहाँले आपत्ती जनाए। उनले भने “लोकतन्त्रको शब्द संग सरकारलाई घृणा हो कि के हो ? हरेक स्थानमा लोकतन्त्रको शब्द हटाएर कि त नया विशेषण दिन्छ। कि त शब्द हटाएर अर्को लेखिन्छ। समाजवादको नया परिभाषा गर्ने अधिकार नीति कार्यक्रमलाई छैन। सरकारलाई छैन। सरकार होस् पुर्याओस। संविधानको संरचनालाई भाँच्ने, भत्काउने कमजोर बनाउने काममा हामी मुक दर्शक भएर बस्दैनौ। ”
सुन तस्करी र वित्तिय अपराध कानुनी दायरामा ल्याउने भनिएको भन्दै उहाँले सरकारलाई प्रश्न गर्नुभयो “३३ किलो सुन कहाँ गयो सरकार ? कानुनी दायरामा आएको हो भने नेपाली जनताले थाहा पाओस् । ”
महिलामाथि हिंसा हुन दिईने छैन भन्ने सरकारले अझै पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले व्यवहारमा देखाउन चुनौती दिए। उनले भने “अब महिला हिंसा हुन दिने छैन भन्ने मेरो सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउछ कि अहिले पनि भाग्ने बाटोमा हिड्छ ? जिम्मेवारी होइन सरकारको ? ”
२३ जना सांसदले नीति तथा कार्यक्रममाथि दर्ता गराएको संयुक्त संसोधनकर्ताको तर्फबाट कांग्रेसका सांसद रिजालले आफ्नो धारणा राखेका हुन्।