
जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ यात्रु घाइते भएका छन् । जन्ती बोकेर खप्तडछान्ना गाउँपालिकाबाट जयपृथ्वी नगरपालिकातर्फ आउँदै गरेको जिप आइतबार अपराह्न चार बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खप्तड छान्ना गाउँपालिका २ निम भन्ने ठाउँमा दुर्घटना हुँदा सोही गाउँपालिकाका ७० वर्षीय वासुदेव जोसीको घटनास्थलमै ज्यान गएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पानी परिरहेको बेला गुडिरहेको जिप सडकबाट चिप्लिएको स्थानीयले बताएका छन् । घाइतेको उद्धार कार्यमा डिएसपीसहितको प्रहरी टोली र स्थानीय खटिएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी सूर्यबहादुर केसीले जानकारी दिएका छन् ।