664 views 4 secs 0 comments

विकाससँगै रोपिएको विष : प्रविधिले बिथोलिएको मानसिकताको उपज’

In देश, समाज
१३ आश्विन २०७५, शनिबार ०७:१८

काठमाडौं – कञ्चनपुर र कास्कीमा बलात्कारपछि हत्या गरिएका क्रमशः १३ र १० वर्षीया बालिकाको पारिवारिक पृष्ठभूमि केही समान देखिन्छ । त्यो समानता हो– दुवै घटनाका पीडितको विशृंखलित परिवार।

दुवै परिवारका आमा पतिबाट अलग्गिएको अवस्था थियो । दुवैका आमाले दुःखजिलो गरी सन्तान पालनपोषण गर्दै आएका थिए। कास्कीमा बलात्कृत बालिका आमा र दिदीसँगै मामाघर बस्दै आएकी थिइन् । बाबुले अर्की श्रीमती ल्याएपछि उनकी आमा माइत बसेकी थिइन्। कञ्चनपुरमा हत्या गरिएकी निर्मलाका बाबु पनि अर्कै पत्नी ल्याएर अलग्गिएर बसेका थिए । पहिलो पत्नीसँग सम्बन्ध बिग्रिएपछि अर्की पत्नीका साथ भारत बस्दै आएका उनी घटनापछि मात्र नेपाल फर्किएका थिए । यी दुई घटनाले संकटग्रस्त र टुटेको परिवारका बालबालिका तथा महिला सबैभन्दा बढी बलात्कारको जोखिममा रहेको देखाएको छ।

पीडकले संकटमा परेका र कमजोर परिवारका कलिला बालिका र किशोरीलाई बलात्कारको निशाना बनाएको पाइन्छ। समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक डा. ज्ञानु क्षेत्री अपराधीले कमजोरमाथि निशाना लगाइरहने हुँदा पारिवारिक एकता कमजोर भएकाहरु बलात्कारको जोखिममा पर्ने सम्भावना बढी हुने तर्क गर्छिन्। नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्री सुरक्षाको अनौपचारिक एकाइका रुपमा रहेका परिवार, अभिभावक, समाजमा संकटमा परेकाहरु बलात्कारको जोखिममा परेको बताउँछन्। उनी भन्छन्, ‘अपराधीले जहिले पनि कमजोरमाथि निशाना लगाउँछ ।’

 

‘अविवाहित पुरुषको तुलनामा विवाहित पुरुष बलात्कारका घटनामा बढी संलग्न हुनु थप अध्ययनको विषय हो । यस आधारमा यौनप्यासभन्दा पनि आपराधिक मानसिकतालाई पनि बलात्कारको कारण बुझ्न सकिन्छ ।

आर्थिक वर्ष २०७४/७५ मा भएका १४ सय ८० बलात्कार घटनामा आधाभन्दा बढी पीडित १८ वर्षमुनिका बालिका रहेको प्रहरी तथ्यांक छ। तथ्यांकले १८ वर्षमाथिका महिला पनि बढी जोखिममा रहेको देखाएको छ। प्रहरी स्रोतका अनुसार बलात्कारपछि हत्या भएका घटनामा पीडित र पीडकबीच चिनजान भएको देखिन्छ। घटना बाहिर आई कारबाहीको भागिदार बन्नुपर्ने अवस्थाबाट जोगिन पीडकले हत्या गरेको तथ्य छ।

बलात्कृत हुनेमा अधिकांश अविवाहित रहेको तथ्यले देखाउँछ। बलात्कारीले कम उमेरकालाई बढी निसाना बनाएका छन्। कम उमेरका बालिकालाई चाँडै लोभलालचमा पार्न सकिने भएकाले पनि बलात्कारीले उनीहरूलाई निसाना बनाएका हुन्। समाजशास्त्री क्षेत्री भन्छिन्,‘सहजै लोभ्याउन सकिने, प्रतिकार गर्ने सम्भावना कम हुने र डराउने भएकाले कम उमेरकालाई बलात्कारीले निसाना बनाउँछन्।’ कास्कीमा बालिका बलात्कार घटनामा पनि चकलेट देखाएर लोभ्याएको बयान पीडकले दिएका छन्। प्रहरी प्रवक्ता क्षेत्रीका अनुसार पनि लालचमा सजिलै पर्ने र तत्काल प्रतिकार गर्न नसक्ने भएकाले बालिका सिानामा पर्ने खतरा रहन्छ।

विपन्न आर्थिक अवस्थाको पारिवारिक पृष्ठभूमिका बालिका र महिला बलात्कारको जोखिममा परेका छन्। प्रहरी तथ्यांकले कृषि तथा मजदुरीमा संलग्न अभिभावकका बालिका पनि जोखिममा रहेको देखाएको छ। यस्तो परिवारका अभिभावकले हत्तपत्ति उजुरी नगर्ने भएकाले पनि उनीहरूका नानी बढी बलात्कारको जोखिममा रहन्छन्।

बलात्कार घटना सबैभन्दा बढी तराईमा भएको देखिन्छ। तराईपछि क्रमशः पहाड र हिमाली क्षेत्रमा बलात्कारका घटना दर्ता भएको प्रहरी तथ्यांक छ। प्रदेशगत आधारमा सबैभन्दा बढी बलात्कारका घटना संघीय राजधानीसमेत रहेको प्रदेश ३ मा भएको तथ्यांक छ।

त्यस्तै गर्मी मौसममा बलात्कार घटना बढी भएको तथ्यांकले देखाएको छ। जाडो मौसमको तुलनामा गर्मीमा बलात्कार घटना बढी हुनुमा पहिरन, खानपान, फुर्सद बढी भई नकारात्मक सोच पैदा हुने कारण पनि हो। गर्मीमा बढी मादक पदार्थ सेवन हुने तथ्यांक छ। मादक पदार्थ पनि बलात्कार जस्ता गम्भीर प्रकृतिका घटनाको कारक बनेको छ। मौसम र खानपानको सन्दर्भ यहाँ मिल्न जान्छ। कास्कीमा १० वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेकाले मादक पदार्थ सेवन गरेको तथ्य फेलापरेको छ।

बारगत आधारमा हेर्दा सबैभन्दा बढी बलात्कार शुक्रबार र शनिबार हुने गरेको देखिएको छ। तथ्यांक केलाउँदा शुक्रबार र शनिबार बलात्कार घटना बढी हुनुमा खानपान र मनोरञ्जन केन्द्रित हुनु देखिएको छ। अन्य दिन मानिस काममा व्यस्त हुने कारण पनि बलात्कारका घटना कम भएको तर्क छ।

सबैभन्दा बढी साँझपख बलात्कारका घटना भएको देखिन्छ । तथ्यांकले साँझ छ देखि मध्यरात १२ बजेभित्र बलात्कारका घटना बढी भएको देखाएको छ। रातको समय महिला र बालिका बलात्कारीको निसानामा परेका छन्। खुला या बन्द कोठामा बढी बलात्कार भएको देखिन्छ । खेतबारी, बाटोघाटोको छेउ, वनजंगल वा एकान्त स्थानमा बालिका बालात्कृत भएका छन्। विद्यालय गएर फर्कंदा एकान्त स्थानमा बालिका बलात्कृत भएको घटनासमेत छन्। बलात्कार कसुरमा नख्खु कारागारमा रहेका एकजनाले स्कुलबाट घर फर्किइरहेकी बालिकालाई डरधम्की देखाएर बलात्कार गरेको बताए।

बलात्कारका घटनामा पीडितभन्दा पीडक ठिक उल्टो सामाजिक र आर्थिक पृष्ठभूमिका देखिएका छन्। प्रहरी तथ्यांक केलाउँदा बलात्कारी अधिकांश १८ वर्षभन्दा माथिको उमेरका छन्। अधिकांश पीडक विवाहित देखिएका छन् भने अधिकांश पीडित अविवाहित भएको तथ्यांक छ । विवाहित पुरुष नै बढी मात्रामा बलात्कारमा संलग्न भएको पाइनुले बलात्कार यौन भोकका कारण मात्र हुन्छ भन्ने तर्क फिक्का देखिन्छ। प्रहरी प्रवक्ता क्षेत्री भन्छन्, ‘अविवाहित पुरुषको तुलनामा विवाहित पुरुष बलात्कारका घटनामा बढी संलग्न हुनु थप अध्ययनको विषय हो ।’ यस आधारमा यौनप्यासभन्दा पनि आपराधिक मानसिकताकालाई बलात्कारको कारण बुझ्न सकिन्छ। तर, समाजशास्त्री क्षेत्री भने दम्पती भेट पातलिँदै जानु र रोजगारीका सिलसिलामा विदेसिएर टाढिनुले पनि यौन प्यास मेटाउन विवाहित पुरुषले बलात्कार गर्न सक्ने औल्याउँछिन्। उनी भन्छिन्, ‘दम्पतीबीचको दुरीले पनि बलात्कारको घटनामा विवाहित पुरुषको संलग्नता बढ्न सक्छ।’

अधिकांश बलात्कारका घटना परिचित मानिसबाट भएको देखिन्छ। प्रहरी तथ्यांकले गत आर्थिक वर्षमा भएका कुल बलात्कारका घटनाको अनुसन्धानबाट ६२ प्रतिशत परिचित पुरुषबाट भएको देखाएको छ। सबै जानेबुझेको व्यक्तिले जोखिम कम हुने देखेर यस्तो गरेको देखिन्छ। आपराधिक मनोवृत्तिको चिनेजानेको व्यक्तिले सबै जानकारी पाउने हुँदा बालिका वा महिलालाई निसाना बनाउने दुष्कार्य गर्न सक्ने क्षेत्री बताउँछिन्।

कतिपय घटनामा साथी वा साथीको परिवारका सदस्य, नातागोता मात्र नभई परिवारका सदस्यबाट समेत बलात्कार भएको तथ्यांकले देखाएको छ। परिवारका सदस्यबाट बलात्कृत हुनेमा कमजोर आर्थिक अवस्था भएका वा परिवारमा कलह भएका बालिका वा किशोरी भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

विकाससँगै रोपिएको विष
समाज जति भौतिक विकासतर्फ बढ्छ उति नै आपराधिक घटना बढ्छन्। भौतिक विकासको चुली चुमेका न्युयोर्क, लन्डन, मुम्बई जस्ता सहरमा बलात्कार सबैभन्दा चुनौती बनेर तेर्सिएको छ। अमेरिकाको औद्योगिक नगरी न्युयोर्क विश्वमा सबैभन्दा बढी अपराध हुनेमध्येमा पर्छ । न्युयोर्क सहरमा सन् २०१८ को मेमा मात्र एक सय ८१ बलात्कारका घटना दर्ता भएको तथ्यांक छ, जुन १६ वर्षयताकै सबैभन्दा बढी हो। मुम्बई प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१६ मा ७१२ र सन् २०१७ मा ७५२ बलात्कारको घटना दर्ता भएका छन्। बलात्कृतमध्ये ६० प्रतिशत कम उमेर समूहका छन्।

भौतिक विकासले बलात्कार जस्ता गम्भीर अपराध बढाएको विकसित देशहरुको अपराध तथ्यांकले प्रष्ट पार्छ । नेपालको सन्दर्भमा पनि सबैभन्दा बढी बलात्कारका उजुरी काठमाडौं उपत्यकामा पर्ने गरेको तथ्यांक छ। विकासले भौतिक सुख दिइरहँदा बलात्कार जस्तो गम्भीर अपराध पनि निम्त्याएको छ । सहरी समाजमा जतिसुकै सुरक्षा निकायको निगरानी भए पनि पीडक लुक्न र लुकाउन सजिलो हुने भएकाले बलात्कार जस्ता घटना पनि बढी भएका छन्। विकासले विलासितामा वृद्धिसँगै अपराधको विष पनि फिजाएको छ। भौतिक विकासको चुलीमा पुग्दै गरेको चीनमा अन्य अपराध तुलनामा बलात्कारका घटना पाँच गुणा बढी रहेको तथ्यांक सार्वजनिक भएको छ। भारतमा निर्भया बलात्कार र हत्याकाण्डले त्यहाँको सहरी समाजको भयावह चरित्र बाहिर ल्यायो।

कानुन दुरुपयोग
बलात्कार घटनामा वास्तविक पीडितले कमैमात्र उजुरी गर्छन्। कतिपय घटना पीडितको हत्या वा गम्भीर घाइते भएपछि मात्र सार्वजनिक हुने गरेका छन् । पछिल्लो समय बलात्कारपछि हत्या गरिएका घटना सार्वजनिक भएका धेरै छन्, जसले चर्चा पन पाएका छन्। तर, छिद्र प्रयोग गरी बलात्कारीविरुद्धको कानुन दुरुपयोग समेत भइरहेको छ । फौजदारी कानुनका ज्ञाता प्राध्यापक रञ्जितभक्त प्रधानांगा बलात्कारीविरुद्धको कानुन दुरुपयोग गरी फाइदा लिने घटनासमेत बढेको तर्क गर्छन्। उनी भन्छन्, ‘कुन प्रयोगशालाको रिपोर्ट मान्य हुने र नहुने भन्नेसमेत विवादास्पद बनेको छ ।’ कारागारमा कतिपय निर्दोषहरु बलात्कारको अभियोगमा सजाय काटिरहेका छन्। प्रेम सम्बन्धमा खटपट भएपछि प्रेमिकाले प्रेमीलाई जेल हाल्ने अस्त्रका रुपमा बलात्कारको आरोप लगाउने गरेको पनि पाइएको छ।

महिला हिंसाबारे अनुसन्धान गर्दै आएकी सुजाता गोथोस्कारले ‘बलात्कारको राजनीति’ शीर्षकको लेखमा भनेजस्तै बलात्कार महिलालाई त्रसित र कमजोर बनाउने अस्त्र बनेको छ। त्रसित र कमजोरमाथि नै बलात्कार बढी हुने गरेको छ। समाजमा जो बोल्न डराउँछ उसको मुख थुनिएको छ र उसैलाई बलात्कारको सिकार बनाइएको छ। विशेषगरी अभिभावकबीचको फाटोको फाइदा अपराधीहरुले लिइरहेका छन्। यसप्रति हरेक घरपरिवारले गम्भीरता देखाउन जरुरी छ।

परिवारको आन्तरिक एकता र आमाबाबुबीचको मेल र प्रेमले बालबालिकामाथिको जोखिम न्यून बनाउन सक्छ। बलात्कार जस्तो गम्भीर अपराधविरुद्धको पहिलो शक्ति नै परिवार हो। यस्ता घटनाविरुद्ध तत्काल आवाज उठाउन जरुरी छ। आवाज उठाउन परिवार र समाजको साथ पीडितलाई मिल्नुपर्छ। समाजशास्त्री डा. क्षेत्री बलात्कार रोक्न समाजका औपचारिक र अनौपचारिक सुरक्षाका एकाइ सबै उत्तिकै दायित्व भएको बताउँछिन्।

कान्छीको दिल्ली यात्रा

काठमाडाैं – बालकै देखिन्छिन् उनी । शरीरले किशोरावस्थाको आकार समेत लिइसकेको छैन । गहुँगोरो वर्ण, होचो कद र पातलो शरीर ! गामबेसी गर्दाको पहिरन! फुंग उडेको मुहार! बैंसालु उमेरमा आउनुपर्ने चमक छैन। माइती इन्डियाकी इन्चार्ज इन्दिरा पाण्डे र नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा कान्छी ‐नाम परिवर्तन) भारतको नयाँ दिल्लीस्थित जिबीरोडबाट हवाई मार्ग भएर नेपाल फर्काइँदै थिइन्।

असोज ६ गते दिउँसो नेपाल एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा उनका वृद्धावस्थाका बाबु पनि सँगै थिए । बाबुछोरीका मनभित्रका असन्तुष्टि मुहारमा झल्कन्थ्यो। उतै बसेर अझ पैसा कमाउने महत्वाकांक्षाले नछाडेकाले भनिन्, ‘फर्काएर के भो म फेरि गइहाल्छु!’ शरीर नेपालमा पुगिसक्दा कान्छीको मन दिल्लीमै थियो । मुख दिल्लीतर्फ मोड्न नछाड्दा माइती इन्डिया र प्रहरीले कान्छीलाई अब नेपाल नछाड्न कडा निर्देशन दिनुपरेको थियो। घरपरिवारकै सहयोगमा कान्छी दिल्ली पुगेकी थिइन्। बाबुले समेत रोकेका रहेनछन् कान्छीलाई। उल्टै सहयोगी भूमिका खेलेका रहेछन्।

कहिले विद्यालय नटेकेकी उनले अक्षर चिन्ने र लेख्न जान्ने कुरै भएन। तर, नुवाकोटको दुर्गम गाउँबाट दिल्लीको जिबीरोडस्थित गल्लीको कोठीसम्म पुगेको घटना उतिकै रोचक छ। भूकम्पबाट नुवाकोटस्थित कान्छीको घरसमेत भत्कियो । तीन दिनसम्म भत्किएको घरभित्र पुरिएकी उनकी आमाको जिउँदै उद्धार भयो। काठमाडौंमा उपचारका लागि ल्याउँदा कान्छी साथमा आइन् । उपचारका क्रममा पैसाको कमी हुँदै गयो । होटलमा भाँडा माझ्ने काम गर्न थालिन् उनले। मासिक तीन हजार कमाइ हुन्थ्यो । दुई महिनामात्र भएको थियो उनले काम गरेको। कान्छीलाई एकजना महिलाले लोभ्याइन्। ती महिलाले भारतमा काम गर्दा निकै पैसा कमाइने सुनाइन्। गरिबीले थिचिएकी कान्छी लोभिइन्। परिवारका सदस्यको सहयोगमा २०७२ सालको दसैंअगावै उनी सीमा काटिन। चिनेजानेका चारजना दिदीहरू उनको साथमा थिए। उनीहरूकै साथमा रक्सौलबाट रेल चढेर दिल्लीस्थित जिबी रोड पु-याइयो कान्छीलाई।

यौनकर्मी बन्दा उनी किशोरावस्था पनि टेकेकी थिइनन् । कलिलै उमेरमा उनले जिबी रोडको गल्लीभित्रको कोठीमा शरीरसँग भारु साट्न थालिन्। कलिली भएकीले दिल्लीको यौनबजारमा उनको माग बढ्यो । विपन्न परिवारकी कान्छीका लागि त्यहाँको कमाइ ठूलै थियो । फर्कंदा उनले कानमा लगाएका सुनका मुन्द्रीले पनि कमाइ झल्कन्थ्यो। लस्करे सुन कानभर लगाएकी कान्छीले कमाइबाट निकै सुन खरिद गरेको सुनाइन्। केही सुन उद्धारका क्रममा प्रहरीले लुकाएको दाबी गरिन्। उनी दिल्लीको कोठीमा मात्र सीमित भइनन्। मुम्बई र पुनासम्मको यौनबजारमा लगिन्थिन् कान्छी। जिबी रोडमा प्रतिदिन दुईदेखि पाँच हजार भारुसम्मको कमाइ हुने उनले सुनाइन् । दिल्लीबाहिर जाँदा त्योभन्दा बढी कमाइ हुन्थ्यो।

कान्छीका आफन्त पनि दिल्लीको यौन बजारमा सक्रिय छन् । तीन वर्षसम्म प्रहरी र महिला उद्धारकर्ता पुग्दा उनीहरूकै कारण कान्छी लुकाइएकी थिइन् । उनले भनिन्, ‘प्रहरी आउँदा हामीलाई लुकाइन्थ्यो ।’ आफूजस्तै साना उमेरका युवती करकापमा राखिएको सुनाउँदै तिनको उद्धार गर्न चुनौती भएको बताउँछिन् कान्छी। उनी भन्छिन्, ‘मनखुसी गएका हामीलाई फर्काउनुभन्दा करकापमा राखिएकालाई फर्काउनुहोस् न !’ दिल्लीको अदालतले फर्काउन आदेश दिएपछि मात्र कान्छीको नेपाल फिर्ती सहज भएको हो। नत्र उनलाई कोठीमै फर्काउन यौनबजारका युवती तस्करीमा संलग्न संगठित समूह सक्रिय थिए । जुन असफल भयो। अदालती प्रक्रियामा सो समूहले गरेको खर्च खेर गयो । कान्छीलाई घर फर्काइयो।

कान्छीको दिल्लीको यौन बजारमा भएको कमाइ घरमा आइरह्यो । तीन वर्षसम्म कमाएको र जोगाएको पैसाले उनले सुन खरिद गर्नुका साथै घरखर्च समेत पठाइरहिन्। बेलाबेलामा बाबु आफैं पुगेर पैसा लिइआउँथे । कान्छीको कमाइले बाबुआमाको खर्च टरेको थियो । सुनको अन्डा पार्ने कुखुरी सोचेका थिए बाबुआमाले । त्यसैले, कान्छी फर्काइँदा बाबुमा खुसीभन्दा दुःखको संकेत मुहारमा पढ्न सकिन्थ्यो। पैसासँग चेलीको शरीर साट्ने पितासँग घर लागिन् कान्छी । प्रहरीसामु भनिन्, ‘बाले कोठीमा पु-याएका होइनन्, आफैं गएकी !’ तस्करको सञ्जाल पनि देखाइनन् उनले । अब फेरि यौन बजारमा नपुग्ने ओठे जवाफ दिएर नुवाकोटस्थित गाउँ फर्केकी छिन् कान्छी । तर उनले उद्धारकर्ताकै सामुन्ने फेरि फर्किहाल्छु भनेकी छिन्। मानव तस्करको शैली र कलिला युवती आकर्षित गर्ने रणनीति बदलिइसकेको छ । कान्छी एउटी पात्र हुन् । कान्छीहरू यौनबजारतर्फ आकर्षित भइरहेका छन्।

‘पुँजीवादको परिणम’

काठमाडौं – दुई महिनाअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना किनारा नलाग्दै गत सोमबार कास्की पुम्दी–हुम्दीकी ९ वर्षीया बालिका श्रेया सुनारको पनि बलात्कारपछि हत्या भएको छ। दैनिकजसो बलात्कार र सामूहिक बलात्कारका समाचार सञ्चार माध्यमबाट सार्वजनिक भइरहेका छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो आर्थिक वर्षमा सात सय २७ वटा बलात्कारका घटना भएका छन्। चालू आर्थिक वर्षमा पनि बलात्कारका घटना अझै बढ्ने देखिन्छ। निर्मलाको बलात्कार र हत्यालाई लिएर देशभर विरोध भइरहेको छ। दुई महिना बित्दा पनि सरकारले घटनाका दोषी पहिचान गर्न सकेको छैन । प्रहरीले नै हत्यारा जोगाउन प्रमाण नष्ट गरेको आरोप लागिरहेको छ। निर्मलाको हत्या सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले बुधबार सदनमा नेपालमा बलात्कारका घटना बढ्नुमा पुँँजीवाद कारक रहेको बताएपछि यो विषय झन् पेचिलो बनेको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनालले एक छलफल कार्यक्रममा निर्मलाको बलात्कार र हत्या घटनाका प्रमाण जुटाउन जटिल भएको बताएका छन्।

प्रहरीले नेपाली समाजमा पहिलेदेखि नै बलात्कारका घटना हुँदै आए पनि गुपचुपमा राखिएकाले सार्वजनिक नभएको तर अहिले समाचार माध्यमको पहुँच विस्तारसँगै यस्ता घटना बाहिर आउन थालेको जनाएको छ । पहिलेभन्दा अहिले यस्ता घटना बढेकोमा प्रहरी सहमत छ । समाजभित्रै यस्ता घटना लुकाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न प्रहरीले भूमिका खेलेको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले बताए । ‘यस्ता घटनामा लापरबाही गर्ने प्रहरी अधिकृत कारबाहीमा परेका छन् भने राम्रो काम गर्ने पुरस्कृत भएका छन् । प्रहरीको यो नीतिले पनि अपराधीलाई कानुनी कठघरामा ल्याउन सहयोग गरेको छ’, उनले भने।

प्रहरीले यस्ता अपराध न्यूनीकरणमा सक्रियता देखाउँदादेखाउँदै पनि इन्टरनेटलगायत प्रविधिको विकास र यौनशिक्षा अभावमा बलात्कारका घटना अपेक्षाकृत रुपमा रोक्न नसकिएको थापाको विश्लेषण छ। ‘कलिलो उमेरमै उत्पन्न यौनप्रतिको जिज्ञासाले यस्ता घटना बढिरहेको देखिन्छ। फेसबुकबाट सम्पर्क भएकी पे्रमिकालाई पहिलो भेटमै बलात्कार गरेको देखिन्छ’, उनले भने। योबाहेक समाजमा बढेको मर्यादा उल्लंघन गर्ने संस्कृतिको विकासले पनि विकृति बढेको थापाको तर्क छ। ‘जबरजस्ती करणीमा चिरपरिचितकै संलग्नता बढी देखिन्छ’, उनले भने।

पुँजीवादको परिणम

पवित्रा सुनार

काठमाडाैं – अर्थ राजनीतिका विश्लेषक हरि रोक्का बलात्कारका घटना बढ्नुमा नेपाली समाजमा मौलाएको उदारवादी पुँजीवादको पनि हात रहेको बताउँछन्। उनका अनुसार नेपालमा भित्रिएको पुँजीवादका कारण सामाजिकभन्दा व्यक्तिवादी चरित्र मौलाउँदै गएको छ। उदारवादी पुँजीवादले व्यापारिक आम्दानीको मार्ग प्रशस्त गरेको छ। यसले मानिसमा व्यक्तिगत रुपमा पुँजी जम्मा गर्ने, खर्च गर्ने र सामाजिक सम्बन्धबाट अलग हुने र व्यक्तिवदी सोच राख्ने चरित्रको विकास गरेको छ। यही चरित्रका कारण मानिसका सुख र दुःख दुवै व्यक्तिगत बन्दै गएका छन्। ‘एक दशकयता हामीले धेरै युवालाई विदेश पठायौं र उताबाट पैसासँगै पुँजीवादी आचरण र बढी मोबाइल भित्रिए। मोबाइलमा पाइने अश्लील सामग्रीले बलात्कारलाई प्रश्रय दिएको छ।’

व्यक्तिवादी जीवनशैलीका कारण पछिल्लो समय बलात्कारजस्ता हिंसा मात्र नभई आत्महत्याका घटनामा समेत वृद्धि भएको छ। पहिलाको समाजमा व्यक्तिका दुःख–सुःख, विकास सामूहिक हुन्थे । अहिले सबै संयन्त्र व्यक्तिवादी बनेको छ। पारिवारिक भेटघाटमा खुशी र दुःख साट्ने चलनलाई उदारवादी पुँजीवादका उपहार फोन, इन्टरनेट जस्ता साधनले विस्थापित गरेका छन्। समाज र परिवारप्रति कम जवाफदेही र उत्तरदायी बन्दै जाँदा निराश बनेर आत्महत्या गरेजस्तै बलात्कारका घटना पनि बढेको उनको तर्क छ। ‘दुःख नसाट्ने, समाजसँग गफ नगर्ने क्रममा एक्लिएर बलात्कार र आत्महत्या गर्न पुगेको देखिन्छ,’ उनले भने।

गृहमन्त्री थापाले सदनमा दिएको अभिव्यक्ति सुनेका रोक्काले पुँजीवादले यस्ता विकृति भित्रिएको स्वीकार गर्दै कुनै वादलाई दोष दिनुभन्दा समस्या व्यवस्थापन गर्नु सरकारको दायित्व भएको बताए । ‘महिलालाई बेश्यावृत्तिमा लाग्न नदिन सहरमा रोजगारीको व्यवस्थापन गर्न सक्नु पर्र्छ,’ पुँजीवादले निम्ताएको असर रोक्नेतर्फ लाग्नुपर्छ तर सरकारले यस्तो गर्न सकेको छैन’, रोक्काले भने,‘ व्यापारका नाममा आउने नाफाले गलत संस्कृति पनि भित्रिन सक्छ, सरकारले नियमन गर्न सक्नु पर्छ।’

पुँजीवादले भित्र्याएको शिक्षा व्यवस्थाले पनि छोराछोरीमा विभेद गर्न सिकाएको उनको तर्क छ । यस्तो विभेद देखेको पुरुषले समाजबाटै अपराध सिकेको रोक्काले बताए । बलात्कारलाई नियन्त्रण गर्न र महिला–पुरुषबीचको गलत सोचको अन्त्य गर्न कतिपय धर्मग्रन्थको समेत पुनर्लेखन गरी सुधार गर्नुपर्ने रोक्काको सुझाव छ । ‘जस्तो कि स्वस्थानी, मनुस्मृति र १८ पुराणले महिलालाई कमजोर रुपमा उभ्याएको छ’, उनले भने।

समाज व्यवस्थामा आएको परिवर्तन
समाजशास्त्री मीना पन्तको विचारमा बलात्कारका घटना बढ्नुको विषयमा सतही विश्लेषण भइरहेको छ । यसको पछि बलियो सामाजिक कारण रहेको उनको तर्क छ । महिला र पुरुषबीचमा विभेद कायमै गर्ने सामाजिक संरचना तथा मान्यताका कारण बलात्कार बढिरहेको छ । पन्तका अनुसार पुरानो धर्मशास्त्र र संस्कारले छोरीमाथि नियमन गर्नु र छोरालाई बढी स्वतन्त्र छोड्ने चलनले समाजलाई बलात्कारतिर धकेलेको देखिन्छ । पछिल्लो समयमा समाजमा देखिएका विभिन्न विचलनले पनि बलात्कारलाई बढाएको उनको तर्क छ । परिवार, समाजमा आएको विचलनले अपराध बढाएको छ । विभिन्न कारणले व्यक्तिमा बदलाको भावना उत्पन्न हुने र त्यही क्रममै बलात्कारका घटना हुने पन्त बताउँछिन् । उनी भन्छिन्, ‘हजुरआमालाई गरेको बलात्कार, नौमहिने बालिकाकाको बलात्कार बदलाको मानसिकताले भएका हुन्।’

पन्तका अनुसार नेपाली समाजमा महिलाको तुलनामा पुरुषलाई सधैं शक्तिशाली बनाइराख्ने संरचनाका कारणले पनि बलात्कारका घटना बढिरहेको देखिन्छ । ‘बलात्कार शक्तिशालीबाट कमजोरमाथि भएको देखिन्छ, हाम्रो समाजमा अहिले पनि पुरुष शक्तिशाली छन्’, उनले भनिन् । यी कारणसँगै परम्परागत समाजको मूल्य मान्यतामा आएको परिवर्तनले पनि बलात्कारलाई बढाएको उनको तर्क छ । बीस÷तीस वर्ष अघिसम्म मानिसले सजिलै सामाजिक मूल्यमान्यता उल्लंघन गर्दैन्थे, अहिले सबै उल्लंघन हुँदै गएका छन् । योबाहेक परिवार र समाजमा यौन शिक्षाको कमीले यौन व्यवस्थापन गर्न नजानी युवा विकृतिको बाटोमा पुगेको पन्त बताउँछिन् । बलात्कारीमाथि कारबाही गर्ने, यौन शिक्षा दिर्ने, छोराछोरीबीच समान सामाजिक संरचना निर्माण गर्न सकेमा यस्ता घटना नियन्त्रण गर्न सकिने उनको सुझाव छ।

प्रविधिले बिथोलिएको मानसिकताको उपज
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रका चिकित्सा मनोविद् पशुपति महतका अनुसार पछिल्लो समय बलात्कारका घटना बढ्नुमा एउटै मात्र पक्ष जिम्मेवार छैन । विभिन्न कारणले विकसित हिंसात्मक मानसिकताले पुरुषलाई बलात्कारसम्म पु¥याएको देखिन्छ । सामाजिक व्यवहारविरुद्धको मनोविज्ञान विकसित भएका पुरुष समाजको संहिता बाहिरका क्रियाकलापमा सहभागी हुन पुग्छन् । त्यही गतिविधि गर्ने क्रममै कमजोर महिलालाई बलात्कार गर्न पुग्छन् । ‘आफ्नै छोरीलाई बलात्कार गर्नुको कारण यही हो’, उनले भने । महतका अनुसार रक्सी सेवनले पनि बलात्कारका घटना बढाएको देखिन्छ । ‘बलात्कारमा संलग्नको अध्ययन गर्दा धेरैजसो रक्सी सेवनका बेला भएको देखिन्छ । जस्तो सोमबार पोखरामा बालिकालाई बलात्कार गरी हत्या गरेका पुरुषले रक्सी सेवन गरेको पाइएको छ ।’ उनका अनुसार रक्सी सेवनका बेला मस्तिष्कमा फरक क्रियाकलाप बढ्ने हुँदा त्यो अवधिमा मस्तिष्कले गर्न नहुने कुरा पनि गर्न पु-याउँछ ।