
गएको जेठ ३ गते एकता घोषणा भएको नेकपा (नेकपा)को पार्टी एकताले सोमबार पूर्णता पाउने भएको छ। सोमबार राष्ट्रिय सभा गृहमा १२ बजे एकता घोषणा सभा आयोजना हुने नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। तत्कालीन नेकपा एमाले र मोओवादी केन्द्रबीच गएको जेठ ३ गते एकता भएर नेकपा (नेकपा) बने पनि सो दलको जिल्लास्तरमा एकता हुन सकिरहेको छैन।
जिल्ला स्तरमा कसरी एकता गर्ने भन्ने विषयमा पार्टीमा लामो समय बिवाद हुँदा लम्बिएको एकता प्रक्रियालाई पूर्णता दिन अहिले प्रधानमन्त्री निवास वालुवाटारमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच बैठक भइरहेको छ।
नेतात्रयको बैठकले पार्टी एकतालाई पूर्णता दिने मोडालिटीलाई टुंग्याउने नेकपा स्रोतले जनाएको छ। स्रोतका अनुसार जिल्लाको नेतृत्वमा यसअघि एक पद एक व्यक्ति भनिए पनि अब त्यसलाई कार्यान्वयन गर्ने सम्भावना लगभग सकिएको छ।
जनप्रतिनिधिमा निर्वाचित भएका व्यक्तिलाई पनि जिल्ला कमिटिको नेतृत्व दिने गरी तीन नेताबीच सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार वरिष्ठ नेता नेपालले यो विषयलाई कडाईका साथ राखेका छन्। अध्यक्ष केपी ओली समूह केन्द्रमा बलियो भए पनि तत्कालीन एमालेको जिल्ला कमिटिमा नेपाल समूह बलियो थियो।
त्यसैले नेता नेपालले तत्कालीन जिल्ला अध्यक्षहरुलाई नै जिम्मा दिने गरी प्रस्ताव गरेका छन्। नेता नेपालको यो प्रस्तावमा अध्यक्षद्वय ओली र दाहाल सकरात्मक रहेको जनाइएको छ। निश्चित समयमा जिल्ला अधिवेशन गर्ने समय तोकेर नेता नेपालको प्रस्ताव अनुसारै जिल्ला नेतृत्व दिने विषयमा सहति हुने स्रोतको दावी छ।
वालुवाटार बैठक सकिएपछि आइतबारै सचिवालयको बैठक बस्ने जनाइएको छ। आइतबार दिनभर नेकपा नेताहरु सामुहिक र छुट्टा छुट्टै बैठकमा व्यस्त रहने सम्भावना रहेको छ।
नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ। घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालका बीचमा विवाद रहेको छ। केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन्।
७७ जिल्ला कमिटीमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेताका बीचमा भए पनि नेतृत्वका विषय अझै टुंगो लाग्न सकेको छैन । नेतृत्वको टुंगो लगाउने विधि, प्रक्रिया एवं मापदण्डमा केन्द्रित भई शीर्ष नेताका बीचमा छलफल भइरहेको छ।
सोमबार नेकपाको जिल्ला कमिटिको एकता हुने भए पनि विभिन्न जनवर्गीय संगठनबारे भने कुनै निर्णय नहुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनले हाललाई यी विषयमा छलफल नै नभएको बताए।