विद्यार्थीहरुले सप्तरीमा बिहानै देखि पूर्वपश्चिम राजमार्गमा चक्काजाम …

In शिक्षा
१६ चैत्र २०७५, शनिबार १३:०४

विद्यार्थीहरुले सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्ग नगरपालिकास्थित कल्याणपुर र खरचुहियामा चक्काजाम गर्दा सयौं सवारी साधन रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् ।

लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको थियो ।
शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र एक दिन अगावै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेपछि विद्यार्थी आन्दोलित भएका छन् ।
बिहान ८ बजेदेखि नै यी दुई ठाउँमा चक्काजाम गरिएपनि कल्याणपुरको चक्काजाम प्रहरीले खुलाएको छ । खरचुहियामा निरन्तर चक्काजाम रहेका कारण यात्रुहरुलाई सास्ती भोग्नुपरिरहेको छ ।
आक्रोशित परीक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् । शिक्षा मन्त्रीले राजिनामा दिनुपर्ने मुख्य माग राख्दै उनीहरुले पुत्ला जलाएका हुन् ।
राजविराजबाट पनि विद्यार्थीहरुले सवारी चल्न दिएका छैनन् । ठाउँ-ठाउँमा टायर बालिएका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैनन्