
काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि साधन, स्रोतको अभाव रहेको बताएका छन्। कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन अझै नसकेको भन्दै प्रहरीको आलोचना भइरहेका बेला उनले अपराध अनुसन्धानका लागि प्रविधिसहितका स्रोत, साधनको अभाव रहेको प्रतिक्रिया दिएका हुन्।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पर्याप्त स्रोत, साधानको व्यवस्थापनमा ध्यान दिएर मात्रै अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन पनि राज्यका सबै निकायको ध्यानाकर्षण गराए।
प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणको काममा प्रहरीलाई मात्रै औंला ठडयाउने काम भईरहेको गुनासो गरे। राज्यका सबै निकाय सचेत रहेमात्र अपराध अनुसन्धानको काम प्रभावकारी हुने उनको भनाइ थियो।
पछिल्लो समयमा शान्ति सुरक्षाको अवस्था खस्किएको भन्दै सरकार र नेपाल प्रहरीको चर्को आलोचना हुँदै आएको छ। विशेष गरी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मता पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भइरहेको छ।