
डोटीको दिपायलमा सेती नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । शुक्रवार दिउँसो नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रूपसिंह थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी सहायक निरीक्षकको कमान्डमा सात जना प्रहरी टोली र सशस्त्र प्रहरी टोली खटिएको छ, अझै उनलाई भेटाउन सकिएको छैन ।’
ती महिलाले दिपायलको सेती नदीकाे पक्की पुलबाट हाम फालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका जवान केशव खड्काले देख्नुभएकाे थियाे । त्यसपछि उहाँले इलाका प्रहरी कार्यालयमा खबर गरेको र हाम फाल्ने महिलाको नाम र ठेगाना नखुलेको प्रहरी नायब निरीक्षक थापाले जानकारी दिनुभयो ।