
“म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ। मलाइ जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, “सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ।”
प्रधानमन्त्री ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथ ग्रहण समारोहलाई आज ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे पनि जानकारी दिए।
नेपालको कूल क्षेत्रफलको २८ प्रतिशत भूमि (करीब ४१ लाख २१ हजार हेक्टर) कृषिभूमि रहेकामा सिँचाइको असुविधाका कारण हाल रु २६ लाख ४१ हजारमा मात्र खेती गरिएको छ।
“हामीले प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौँ। हाम्रो संयन्त्र र विज्ञलाई जमीनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौँ ।” उनले भने, “सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै धेरै उत्पादन गरी बजारीकरणसहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नुपर्छ । कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ।”
प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारीसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा पूर्णतामा केही ढिलाइ भए पनि अब टुङ्गिएकाले पार्टीले गति लिने जानकारी दिए।
उनले भने,“विश्वमै नयाँ ढङ्गको एकताबद्ध र अनुशासित कम्युनिष्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धाबाट सरकारका जान सक्छ र राष्ट्रिय हितमा काम गर्न सक्छ भन्ने स्थापित भएको छ। अब कोही गरीब र कोही धनी भइरहने अवस्थाको अन्त्य गरी न्याय र समतामूलक मानवजातिका लागि सुरक्षित र समृद्धिको यात्रामा सिङ्गै समाजलाई उठाउन हामी लागेका छौँ।”
देशलाई आत्मनिर्भर बनाउन उत्पादनलाई निर्यात गर्ने कामको अगुवाइ गर्न महासङ्घका केन्द्रीय नेतालाई आग्रह गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले कृषि क्षेत्रमा अबको क्रान्ति आधुनिकीकरण, व्यावसायिकरण र उन्नत कृषितर्फ हुने उल्लेख गरे।