682 views 0 secs 0 comments

सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी

In समाज
१५ मंसिर २०७५, शनिबार ०९:०४

काठमाडौं – एउटा यात्रुबसमा दुई युवकले एक्कासि एक महिलाको झोला ताने। ‘चोर ! चोर !!’ भन्दै चिच्याउँदै झोला फुत्कन नदिन उनी बल गर्दै थिइन् उनी। लुटेरा र महिलाबीच झोला तानातान चल्दै थियो। संयोगले बसमा सादा पोसाकका प्रहरी रहेछन्। उनीहरूले खलासीलाई तत्काल बसको ढोका बन्द गर्न लगाए। सादा पोसाकका प्रहरी र लुटेराहरूबीच केहीबेर घम्साघम्सी चल्यो। लुटेरा भाग्न खोज्थे, प्रहरी रोक्न। पीडित महिलाले तत्काल प्रहरीमा खबर गरी थप सहयोग मागिन्। एकै छिनमा थप प्रहरी आए र ती लुटेरालाई नियन्त्रणमा लिए।

बिहीबार दिउँसो ललितपुरको महालक्ष्मीस्थानमा भएको घटना हो यो। चक्रपथ परिक्रमाको बस सातदोबाटोबाट कलंकीतर्फ बढ्दै गर्दा लुटेरा समूह छिरेको थियो। यसै साताबाट सादा पोसाकको प्रहरीले निगरानी बढाएकाले उनीहरू पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रका अनुसार पक्राउ पर्नेमा गोदावरी टौखेल बस्दै आएका श्याम तामाङ र राजीव तामाङ छन्। उनीहरु समूहगत रूपमा पाकेट मार्नेदेखि लुटपाटमा संलग्न रहँदै आएको अनुसन्धानबाट पत्ता लागेको मिश्रले बताए। लुटेरा समूहले झोला बोक्ने र त्यही झोलाको छेको लगाएर यात्रुको सामान निकाल्ने गरेको प्रहरीको भनाइ छ। यात्रुले प्रतिकार गरे हातपात गरेर भए पनि लुटेर भाग्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ। यस्ता समूहका अन्य सदस्यहरूको समेत संलग्नता रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

बुधबार मात्र सातदोबाटो प्रहरीले एकजना पाकेटमारा पक्राउ गरेको थियो। ग्वार्कोबाट सातदोबाटोतर्फ बस जाँदै थियो। यात्रुले खचाखच सो बसमा एकजना युवक चढे। उनले लुट्ने मनशायले यात्रुको झोला छामे। त्यसबनरे चाल पाएपछि यात्रुले प्रतिकार गरे। उक्त बसमा पनि सादा पोसाकका प्रहरी थिए। ग्वार्को चोकमा प्रहरीले पाकेटमारलाई नियन्त्रणमा लिए। प्रहरी चिन्नेबित्तिकै लुटेरा घुस दिएर फुत्कन खोजे। प्रहरीले तत्काल सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्त सातदोबोटामा खबर गरे। खटिएका प्रहरीले धोबीघाटका सुवास राना मगरलाई नियन्त्रणमा लिए।

चक्रपथ परिक्रमालगायत बसमा भिडभाड हुने रुटमा पकेटमारहरूको समूह नै सक्रिय रहेको विषय नागरिक दैनिकले उठाएपछि प्रहरीले निगरानी बढाएको थियो। नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदी जनताको जीऊधनको रक्षा र शान्तिसुरक्षाका लागि प्रहरीले कुनै कसर बाँकी नराखेको बताए। सार्वजनिक बसमा यात्रुमाथि लुटपाट र पाकेट मार्ने घटनाबारे खबर आएपछि निगरानी बढाइएको उनको भनाइ छ। ‘नेपाल प्रहरीले फरार वा सक्रिय कुनै किसिमका अपराधीलाई नियन्त्रणमा लिएरै छाड्छ,’ उनले भने।

डिएसपी मिश्रका अनुसार बसमा पाकेट मार्नेदेखि लुटपाट समेतका घटना बढेकाले सादा पोसाकमा प्रहरी छरिएर तिनीहरूलाई पासोमा पार्ने रणनीति बनाइएको हो। ललितपुरमा दुई दिनका बीचमा तीनजना पाकेटमार समातिनुमा यही रणनीतिले काम गरेको उनी बताउँछन्। प्रहरीका अनुसार जाल थापेर पाकेटमार र लुटेरा समूह धमाधम पक्राउ गर्न थालिएको छ।

गत हप्ता महानगर यातायातमा प्रवेश गरी पाँचजनाको समूहले बालाजुदेखि कलंकीसम्म पुग्दा बसका यात्रुलाई लुटपाट गरेका थिए। सोही विषयमा नागरिकमा समाचार प्रकाशित भएपछि यस्ता प्रकृतिका अपराध गर्नेलाई पक्राउ गर्न प्रहरीले सक्रियता देखाएको थियो। बसमा यात्रुहरु त्रसित भएर उजुरीसमेत गर्न डराउने घटना बढेकोमा प्रहरीले ‘कोभर्ट’ शैलीमा अपराधीलाई नियन्त्रणमा लिन थालेको छ।