1535 views 0 secs 0 comments

आज कुकुर तिहार,तिहारको दोस्रो दिन

In देश, समाज
२० कार्तिक २०७५, मंगलवार १२:२७

काठमाडौं– आज यमपञ्चकको दोस्रो दिन आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । कुकुरको सुँघ्न सक्ने क्षमता अन्य जनावरभन्दा धेरै हुने र सँधै चनाखो रहन्छ भन्ने मान्यतामा कुकुरलाई सधैँ श्रद्धाभावले हेर्ने गरिन्छ । हिन्दु धर्ममा कुकुरलाई भैरवका रुपमा पुज्ने चलन छ ।

कुकुरलाई जघन्य अपराधका अपराधी पक्राउ गर्न र यससम्बन्धी कला प्रदर्शन गर्ने गरी सुरक्षा निकायले उपयोग गर्दै आएका छन् । यी निकायले कुकुरको क्षमताअनुसार पदीय दर्जा समेत प्रदान गरी कुकुर पूजा मनाउने गरेका छन् ।

यमराजको द्वारपालको रूपमा श्याम र सवल नामक कुकुरले यमलोक जाँदा यमलोकको ढोका खोलिदिन्छन् भन्ने विस्वास रहि आएको छ ।

त्यस्तै वैवस्यत मन्वन्तर कुलमा जन्मिएका कुकुरले युधिष्ठिरलाई स्वर्ग यात्रा गराएको कथन पुराणमा पाइन्छ । आजभोलि गाउ तथा शहरमा विभिन्न जातिप्रजातिका कुकुर पाल्ने सोख बढ्दै गएको छ र व्यवसाय पनि निकै फस्टाएको छ ।

आजकै दिन अर्थात नर्के चतुदर्शीमा नदी खोला त्रिवेणी दोभान वा जलाशययुक्त स्थानमा स्नान गरेर माटो जरा सहितको अपमार्गको विरुवा टाउकोमा तीन पटक घुमाएर खोलामा बगाई नर्क बगाउने प्रचलन पनि छ ।