महासमिति र नेविसंघबारे निर्णय हुने:काँग्रेस बैठक आज

In राजनीति
२० कार्तिक २०७५, मंगलवार १३:०२

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

आज बस्ने बस्ने केन्द्रीयय कार्य समितिको बैठकमा पार्टीको विधान मस्यौदा प्रस्तुत गर्ने तयारी छ । त्यसका लागि मस्यौदा समितिको बैठक मंगलबार बिहानैबाट बसिरहेको समितिका सदस्य प्रदीप पौडेलले बताए ।

नयाँ संविधानअनुसार काँग्रेसले आफ्नो पार्टी संरचनालाई सङघीय ढाँचामा लैजान विधान संशोधनको प्रक्रिया अगाडि बढाएको हो ।

बैठकमा विधान मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले विधानको मस्यौदा प्रस्तुत गर्ने भनिएपनि विधानका कतिपय विषयमा सहमति हुन नसकेकाले अन्तिम समयसम्म सहमतिको प्रयास गरिने नेताहरुले बताएका छन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा विधान मस्यौदा प्रस्तुत हुने, महासमितिको बैठक केही दिन पर सार्ने र नेपाल विद्यार्थी संघको महाधिवेशनका विषयमा बैठक मंगलबारको बैठकमा छलफल हुने बताए ।

प्रवक्ता शर्माले मङ्सिर ५ बाट सुरु हुने तय भएको महासमिति बैठक विविध कारणले सार्नुपर्ने अवस्था आएको बताए ।

केन्द्रीय सदस्यलाई विधानको मस्यौदा दिएपछि अध्ययनका लागि पाँच दिनको समय दिने र केन्द्रीय समितिमा सवै नेताले आफ्नो धारणा राख्न समय दिनुपर्ने ति सुझावलाई विधान मस्यौदामा समावेश गर्न पनि समय लाग्ने भएकाले महासमिति बैठक सार्नुपर्ने अवस्था आएको काँग्रेस नेताहरुले बताएका छन् ।

तर, काँग्रेसमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष तोकिएकै मितिमा महासमिति बैठक बोलाउनुपर्ने अडानमा छ ।

मंसिर तेस्रो साता महासमिति
मंसिर पहिलो साता हुने भनिएको काँग्रेस महासमिति बैठक त्यो समयमा हुन नसक्ने निश्चित भएपछि मंसिर तेस्रो सातालाई सार्ने तयारी भएको छ । काँग्रेस प्रवक्ता शर्माले विविध कारणले पहिलो साता हुन नसक्नेभएपछि महासमिति बैठक मंसिरभित्रै गर्नेगरी अनौपचारिक कुराकानी भएको बताए ।

‘सम्भवत मंसिर तेस्रो साता महासमिति बैठक बस्ने गरी मिति परिवर्तन हुन्छ,’ शर्माले रातोपाटीलाई बताए ।

नेविसंघ अधिवेशन फागुनमा
त्यस्तै कार्तिक १६ बाट हुने भनिएको काँग्रेसको १३ औं अधिवेशन हुन नसकेपछि त्यसबारेमा पनि काँग्रेस केन्द्रीय समितिमा छलफल हुने भएको छ । पहिलो एजेण्डा महासमिति बैठक भएपनि नेविसंघबारेमा पनि छलफल हुने प्रवक्ता शर्माले बताए ।

उनका अनुसार अधिवेशन हुन नसकेपछि यहि कार्यसमतिलाई तर्दथ समितिमा परिणत गर्ने एउटा विकल्प र आगामी फागुन महिनामा हुने स्ववियु चुनाव आसपासमा अधिवेसन गर्नेगरी मिति तोक्ने तयारी भएको बताइएको छ ।