म्याग्दी — दुई वर्षअघि भएको ट्वीनेटर जहाज दुर्घटनास्थलमा फेला परेको रकम दाबी गर्न कोही नआएपछि प्रहरीले धरौटी खातामा जम्मा गरेको छ ।
२०७२ फागुन १२ मा साबिक दाना गाविस ९ काप्रेको सोलीघोप्टे भीरमा तारा एयरको कलसाइन नाइन–एनएएचएचट्वीनेटर जहाज दुर्घटना भएको थियो । दुर्घटनास्थलमा छरपस्ट सामानसँगै १ लाख ७० हजार ९ सय रुपैयाँ नगद फेला परेको थियो । उक्त रकम आफ्नो भनेर हालसम्म कोही दाबी गर्न आइपुगेनन् ।
घटना अनुसन्धानको फाइल बन्द गर्न प्रहरीले उक्त रकम जिल्ला प्रशासन कार्यालयमाको धरौटी खातामा जम्मा गरेको हो । प्रहरीका अनुसार दुर्घटनामा फेला परेका गरगहनालगायत अन्य समाग्रीहरू सनाखत भएअनुसार सबै बुझाए पनि पैसा कसको भन्ने पहिचान नभएकाले त्यसै थियो ।
‘हकवाला स्थापित भएपछि उसले जहिले पनि पाउन सक्नेगरी हाललाई उक्त दुर्घटनामा फेला परेको रकम प्रशासनको धरौटी खातामा जम्मा भएको छ,’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने, ‘यस्तो रकम अन्य राजशव खातामा राख्दा कोल्याप्स हुने भएकाले नमासिने/ननाशिने कोषमा राख्ने गरिन्छ ।’
दुई वर्षअघि पोखराबाट जोमसोमका लागि उडेको उक्त जहाज सोलीघोप्टे भीरमा दुर्घटना हुँदा दुइ विदेशी, दुइ बालबालिकासमेत २३ जनाको मृत्यु भएको थियो ।
पोखरा–जोमसोम उडानको घोडेपानी–लेतेसम्मको ५ मिनेटको उडान क्षेत्रलाई हवाई क्षेत्रमा ‘वफर जोन’ भन्ने गरिन्छ ।