550 views 0 secs 0 comments

मन्त्रालय अगाडि धर्ना रोक्न सुरक्षामा कडाइ

In देश
१४ कार्तिक २०७५, बुधबार १३:०३

काठमाडौँ। सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ।

मन्त्रालय परिसर अगाडि बुधबार नेपाल प्रहरीले सुरक्षा घेरा बढाएको छ भने सिंहदरबार प्रवेशमा परिचयपत्र, प्रवेशपत्र वा नागरिकताको जाँचमा कडाइ गरिएको छ।

विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीले २४० दिन काम गरेकालाई स्थायी प्रक्रियामा सामेल गराउन माग गर्दै तीन दिनदेखि धर्ना दिएका थिए।

सङ्घीय संरचनानुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै कार्यालय समयमा मन्त्रालयको प्रवेशद्वारमा दैनिक चार घण्टा धर्ना दिन थालेपछि आजदेखि सुरक्षाकर्मीले कडाइ गरेको हो।

ती कर्मचारीलाई विगतमा सरकारले गरेको सम्झौताअनुसार व्यवस्थापन गर्न कर्मचारी सङ्घ सङ्गठनले माग गरेका छन्। रासस