
काठमाडौं । वैदेशिक रोजगारीका लागि दलालले भारतको नयाँदिल्ली पुर्याएका ८ जा नेपाली युवतीको भारतको दिल्लीबाट बुधबार अबेर उद्धार गरिएको छ ।
दिल्ली महिला आयोगको टोलीले दिल्ली प्रहरीको सहयोगमा ती युवतीहरुको उद्धार गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । एक नेपाली गैरसरकारी संस्थाले दिएको सूचनाका आधारमा महिला आयोगकी प्रमुख स्वाती मलिवाल, आयोग सदस्यहरु र प्रहरीले दिल्लीको पहरागन्ज क्षेत्रबाट ती युवतीहरुको उद्धार गरेको समाचारमा जनाइएको छ ।
समाचारअनुसार महिला आयोगको टोलीले होटल ओम्याक्स डिलक्समा छापा हानेर ती युवतीहरुको उद्धार गरेको हो । युवतीहरुलाई उद्धारपछि दिल्लीस्थित नेपाली राजदूतावासलाई जिम्मा लगाइएकोसमेत समाचारमा जनाइएको छ ।
उद्धारपछि महिला आयोगकी प्रमुख स्वातीले नेपालको भूकम्पपीडित क्षेत्रबाट ती युवतीलाई खाडी मुलुकमा रोजगारीका लागि दलालले फकाएर दिल्ली पुर्याएको बताइन् । उनले एक नेपाली गैरसरकारी संस्थाले दिएको सूचनाका आधारमा आयोगको टोलीले छापा मारेकोसमेत बताइन् । उनका अनुसार उद्धार गरिएका सबै युवतीको उमेर २० वर्षभन्दा माथि छ ।
हिन्दुस्तान टाइम्सका अनुसार ती युवतीहरुको राहदानी भने उनीहरुसँग छैन । राहदानी दलालले लिएको हुनसक्ने जनाइएको छ ।
महिलाहरुलाई घरेलु कामदारका रुपमा नेपाल सरकारले वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएपछि दलालहरुले दिल्ली हुँदै अवैध ढंगबाट नेपाली चेलीलाई खाडी तथा कुवेत पुर्याउने गरेका छन् । यस्तो अवैध जानेहरु मध्ये धेरै जसो दिल्लीमै अलपत्र पर्ने गर्छन् । यसरी उद्धार गरिएका यी युवतीहरु लामो समयदेखि दिल्लीको सो होटलमा बस्दै आएको बताइएको छ ।