
भक्तपुर । रु दुई लाख लुटपाट गरी फरार भएका लुटेरालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।
मध्यपुरथिमि नगरपालिका–५ सयपत्री टोलका जया कोइरालाले दशैँका लागि मनि ट्रान्सफरबाट रु दुई लाख झिकेर झोलामा राखी लैजाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले नगद बोकेको उक्त झोला लुटेर भागेका थिए।
भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट सडकस्थित हनुमन्ते पुलमा नगद बोकेको झोला लुटेर भाग्ने दुई जनामध्ये एक जनालाई लुटेको रकम र सो कार्यमा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरेको छ।
पक्राउपर्नेमा सिन्धुपाल्चोक बलेफी घर भई हाल मध्यपुरथिमि चपाचो बस्दै आएका २० वर्षीय सुजन तामाङ रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए।
तामाङका साथबाट लुटपाटमा प्रयोग भएको बा९१प ५५१३ नंको मोटरसाइकल र लुटिएको नगद रु दुई लाख बरामद गरेको उनले जानकारी दिए। लुटपाटमा संलग्न अर्को एक जनाको खोजी कार्य भइरहेको पनि प्रहरी नायब उपरीक्षक केसीले बताए।
प्रनाउ केसीका अनुसार कोइरालाले सल्लाघारीमा रहेको दुई वटा मनिट्रान्सफरबाट रु एक÷एक लाख झिकेर कागजमा पोको पारी झोलामा हालेर घर जाँदै गर्दा मोटरसाइकलमा आएका दुई लुटेराले झोला खोसेर लगेको जानकारी पाएलगत्तै प्रहरीले चौतर्फी नाकाबन्दी गरेर खोजी गरेको बताए।
दशैँको आगमनसँगै चोरी र लुटपाटका घटना हुनसक्ने भन्दै प्रहरीले व्यापक निगरानी बढाएको जानकारी उनले दिए। प्रनाउ केसीले भने, “चाडबाडको मुखमा चोरी, लुटपाट र अन्य अपराधका घटना बढ्न सक्छ, यसलाई मध्यनजर गर्दै हामीले व्यापकरुपमा प्रहरी परिचालन गरेका छौँ।”
सादा पोषाकका प्रहरी, गस्ती प्रहरी, मोबाइल भ्यान, दिवा र रात्रि गस्ती, एम्बुसिङ, छड्के चेकिङ बढाएको तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको प्रनाउ केसीले बताए। अपरिचित व्यक्ति आएमा वा शङ्कास्पद कुनै गतिविधि गरेमा तत्काल प्रहरीलाई खबर गर्नसमेत सर्वसाधारणमा उनले आग्रह गरे।