नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने निर्णय गरेको छ । सरकारले इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नलिएको जनाउँदै अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको हो ।
‘इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन ४८ घण्टाभित्र फिर्ता लिन आग्रह गरेका थियौ। तर, सरकारबाट कुनै सुनुवाई भएन,’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘महासंघका पदाधिकारीबीच भएको छलफलमा अग्रिम टिकट बुक नगर्ने निर्णय भएको छ।’
सरकारले पटक/पटक मूल्यवृद्धि गरेकाले सवारी साधन चलाउन सक्ने अवस्था नभएको उनले जानकारी दिए। ‘चाडपर्व नजिकै आएकाले सरकारले पनि विचार गर्नुपथ्र्यो। १५/२० दिनको लागि किन मूल्यवृद्धि भयो,’ उनले प्रश्न गरे।
अग्रिम टिकट बुकिङ नभएपनि सवारी साधन भने दैनिक सुचारु हुने महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउदै आयल निगमले हालै पेट्रोलमा दुई र मट्टितेल/डिजेलमा ३/३ रुपैँया मूल्य बढाएको थियो।
यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भने टिकट बुकिङ हुने दाबी गरे। ‘यसअघि व्यवसायीहरुसँग भएको छलफलमा असोज ५ गतेदेखि अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय भएको छ।सहमतिकाे बीचमा मूल्यवृद्धि भयो। विरोध गर्नु स्वभाविक हो,’ सचिव मधुसुदन अधिकारीले भने, ‘त्यसको मतलब व्यवसायीहरु तयार नभएका होइनन्। बुकिङ हुन्छ।’ ‘यदी टिकट बुकिङ भएन भने वार्ता मार्फत समाधान गर्छौँ,’ उनले भने।
यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले पनि दसैंको प्रि बुकिङ शुक्रबारबाटै खुल्ने दाबी गरे। ‘सहमति निर्णय अगााडि नै भएकाले मूल्यवृद्धि र विरोधको विषयमा विभागलाई केही जानकारी छैन,’ उनले भने, ‘मूल्यवृद्धिकै कारण हो भने त्यसलाई सरकारले सम्बोधन गर्छ। तर, अग्रिम टिकट बुकिङ हुन्छ।’
निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य अस्वभाविक बढेकाले बाध्य भएर मूल्य बढाएको बताए। मूल्य वृद्धि स्वचालित प्रणाली अन्तर्गत भएकाले फिर्ता लिन सम्भव नहुने निगमले जनाएको छ।
‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले १५ दिनमा निगमको घाटा ३१ करोड ६७ लाख रुपैयाँ छ,’ उनले भने, ‘स्वचालित मूल्यबाट समायोजन गरिएको मूल्य फिर्ता लिनु उचित हुदैन।’