भारतमा आमाबुबाले अनिच्छापूर्वक जन्माएका छोरीको संख्या २ करोड १० लाख रहेको एउटा सरकारी प्रतिवेदनले देखाएको छ । अर्थ मन्त्रालयको प्रतिवेदन अनुसार छोरा नहुञ्जेल धेरै दम्पतीले सन्तान जन्माउने क्रमलाई निरन्तरता दिएको जनाइएका छ ।
प्रतिवेदनले लिङ्ग पहिचान गरी गर्भपतन गराउनेभन्दा छोराको जन्मलाई महत्व दिने प्रचलन रहेको उल्लेख गर्दै त्यसले बालिकाका लागि कम स्रोत साधन उपलब्ध हुने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
उनीहरूले भनेका छन, छोराको जन्मलाई महत्व दिने मान्यताबारे भारतीय समाजले गम्भीर रूपमा विचार गर्नुपर्छ ।
प्रतिवेदन अनुसार भारतमा ६ करोड ३० लाख महिलाहरू देशको जनसंख्याबाट बेपत्ता भएका छन । उनीहरूका अनुसार लिङ्ग पहिचान गरेर गर्भपतन गराउने प्रवृत्ति र छोरालाई बढी उपलब्ध गराइने स्याहारसुसारले यस्तो अवस्था आएको हो ।
भारतमा भू्रण लिङग पहिचानलाई गैरकानूनी मानिन्छ । छोरी नभइ छोरामा हुने सम्पत्ति हस्तान्तरण, विवाहका क्रममा छोरीलाई दाइजो दिनुपर्ने र दुलही दुलाहाको घर जानुपर्ने प्रचलनसहितका कारण भारतमा छोरालाई प्राथमिकता दिने गरेको उनीहरुले उल्लेख गरेका छन् ।
सांस्कृतिक रूपमा छोरालाई बढी महत्व दिइएका कारणले एउटा भारतीय समाचारपत्रले वैज्ञानिक रुपमा प्रमाणित नभएका छोरा जन्माउने उपायहरूको सूची समेत प्रकाशन गरेको थियो । त्यसमा पश्चिम फर्किएर सुत्नुपर्ने र साताका विशेष दिनमा मात्रै यौनसम्पर्क गर्नुपर्ने जस्ता बुँदा समेटिएका थिए ।
छोराको मोहबाट सबैभन्दा बढी प्रभावित राज्यहरूमा पञ्जाब र हरियाणा रहेका छन भने सबैभन्दा कम प्रभावित चाँहि मेघालय रहेको छ ।
पञ्जाब र हरियाणामा ७ वर्षमुनिका एक हजार बालिका हुँदा सोही उमेर समूहका बालकको संख्या भने १२ सय रहेको उक्त आर्थिक सर्वेक्षणले जनाएको छ ।