884 views 0 secs 0 comments

प्रहरीले नै जुवा खाल लुटेपछि….

In देश, समाज
१८ माघ २०७४, बिहीबार ११:३४

काठमाडौं : कलंकीस्थित सगुन होटलमा जुवा खेलिरहेका जुवाडेलाई नियन्त्रणमा लिनुको साटो उल्टै धम्क्याएर रकम लुटेपछि प्रहरीका एक सई र जवान कारबाहीमा परेका छन् । सोमबार भएको घटनामा पीडित जुवाडे मोबाइल खोज्दै कालिमाटी वृत्तमा पुगेपछि प्रहरीले लुटेको खुलासा भएको हो ।

होटलमा जुवा खेलिरहेको सूचना पाएपछि सई मदनबहादुर मल्ल र जवान मनोहर बुढा होटलमा पुगेका थिए । उनीहरूले जुवाडेहरूलाई ‘सामान र पैसा छाडेर भाग’ भन्दै खालमा रहेको साढे ४ लाख रुपैयाँ र मोबाइल लिएर मल्ल र बुढा होटलबाट निस्किएका थिए । प्रहरी प्रभाग थानकोटमा कार्यरत उनीहरूले रकम र मोबाइल लुटेरा शैलीमा लगेपछि पीडितहरू प्रहरी वृत्त कालिमाटी पुगेका थिए ।

वृत्तले अनुसन्धानका क्रममा मल्ल र बुढाको संलग्नता खुलेपछि दुवैलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको थियो । प्रहरीले मल्लको साथबाट १ लाख ३५ हजार, बुढाको साथबाट १२ हजार रुपैयाँ र लुटिएको मोबाइल बरामद गरेको छ । परिसर टेकुले बुढालाई निलम्बन गरेको छ भने सई मल्ललाई निलम्बनका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्र पठाएको छ ।

महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्दले जुवाडेबाट लुटपाट गरेको घटनामा सई मल्ल र जवान बुढामाथि कारबाही गरिएको बताए । उनले भने, ‘जुवा खालबाट रकम लुटपाट गरेको भन्दै परिसर टेकुले कारबाहीका लागि पत्र पठाएको छ । उनीहरूलाई निलम्बन गरी अनुसन्धान भइरहेको छ ।’