स्तन क्यान्सर थाहा पाउन लाउनुस् यस्तो ब्रा

In स्वास्थ्य/जीवनशैली
४ पुष २०७४, मंगलवार १३:२१

एजेन्सी । स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन्, तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ ।

स्तन क्यान्सरबाट महिलाहरु पिडित बनेका छन्। छालाको क्यान्सरपछि अमेरिकामा महिलाको मृत्युको प्रमुख क्यान्सर कारक स्तन क्यान्सर नै हो । प्रतिवर्ष दुई लाखभन्दा धेरै अमेरिकि महिलालाई स्तन क्यान्सर हुन्छ भने प्रतिवर्ष ४० हजारले यस रोगका कारण मृत्युवरण गर्छन् । लगभग १७ लाख अमेरिकी महिलाहरू स्तन क्यान्सरले पीडित भइरहेका छन् ।

मेक्सिकोका एक जना विद्यार्थीले स्तन (ब्रेस्ट) क्यान्सर पत्ता लगाउने ब्रा बनाएका छन् । उनले यो ब्राको नाम ‘इवा ब्रा’ राखेका छन् । १८ बर्से जुलियन रियोस सान्टुले स्तन क्यान्सर पत्ता लगाउने ब्रा बनाएका हुन् । उनले पहिरिने महिलालाई यो ब्राले स्तन क्यान्सरका लक्षण देखिए सतर्क गराउने दाबी गरेका छन् ।

उनले तीनजना साथीसँग मिलेर यो ब्रा बनाएका हुन् । ब्राको प्रवद्र्धन गर्न तीनै जनाले एउटा कम्पनी पनि स्थापना गरेका छन् । तर यो ब्राको पूर्णतया परीक्षण भइसकेको छैन ।

तीनै जनाले ब्रा परीक्षणका लागि पर्याप्त रकम जम्मा गरिसकेका छन् । ब्रा आविष्कारका लागि उनीहरूलाई ‘ग्लोबल स्टुडेन्ट एन्टरप्रिनियर’ (युवा उद्योगपति) बाट पुरस्कृत गरिएको छ ।

क्यान्सरयुक्त ट्युमरमा रगतको प्रवाह बढ्दा छालाको तापक्रम बढ्छ । यो ब्रामा जडित बायोसेन्सरले छालाको तापक्रम नाप्छ र एउटा एपसँग सम्पर्क गर्छ । एपले गरेको विश्लेषणपछि ब्राले छालामा भएको परिवर्तनको जानकारी पहिरिने महिलालाई दिन्छ ।

तर यसबाट जानकारी पाउनका लागि एक सातामा यो ब्रा कम्तीमा पनि ६० देखि ८० घन्टा लगाउनु पर्छ । यसो गरेमात्र यसले सटीक जानकारी दिन्छ ।