
१३ मंसिर, काठमाडौँ ।
कुनैबेला एचआईभी यस्तो रोग थियो, जसबाट संक्रमण हुनेलाई समाजले तिरस्कार गर्ने भय हुन्थ्यो । अर्को यो रोग लागेपछि मरिन्छ भन्ने भय । जसले गर्दा रोगले भन्दा पनि शोकले ज्यान जाने गर्थ्यो ।
तर अहिलेको अवस्था फरक छ । पछिल्लो समय एचआईभीको उपचार सम्भव छ । बेलैमा उपचार भए स्वस्थ भई जीवनयापन गर्न सकिन्छ । त्यति मात्र होइन, नियमित औषधि खाएमा संक्रमितले सन्तान पनि जन्माउन सक्छन् । जसकारण एचआईभी संक्रमितलाई पनि सामान्य रूपमा लिइन्छ ।
एचआईभी कस्तो रोग हो ? यसबाट कसरी बच्ने ? के छ उपचार ? यसबारे चर्चा गरौं ।
ह्युमन इमुनो डिफिसेन्सी भाइरस अर्थात् एचआईभी एक यस्तो भाइरस हो, जसले शरीरमा प्रवेश गरेपछि बिस्तारै प्रतिरक्षा प्रणालीमा आक्रमण गर्छ । र, प्रतिरोधात्मक क्षमता घटाउँदै लैजान्छ ।
यदि एचआईभीको सही समयमा उपचार गरिएन भने यो एड्स (एक्वायर इम्युनोडेफिसियन्सी सिन्ड्रोम)मा परिणत हुन्छ । हाल एचआईभी निर्मूल नै पार्ने कुनै प्रभावकारी उपचार छैन । एकपटक एचआईभी संक्रमित भएपछि उसले जीवनभर योसँगै बाँच्नुपर्छ । तर उचित चिकित्सकीय हेरचाह र उपचारको सहयोगमा एचआईभी संक्रमणलाई नियन्त्रणमा भने राख्न सकिन्छ ।