604 views 3 secs 0 comments

दलहरुले नटेरेपछि गोरखामा प्रहरीले नै हटाउन थाल्यो प्रचार सामग्री

In देश
२ पुष २०७४, आईतवार १४:१४

गोरखा : गोरखा प्रहरीले निर्वाचनका बेला विभिन्न राजनितिक दलले प्रचारका लागि राखेको सामग्री हटाउन थालेको छ। निर्वाचनको मतपरिणाम सार्वजनिक भएलगत्तै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राजनितिक दलका नेता तथा कार्यकर्तालाई प्रचार सामग्री हटाउन आग्रह गरे पनि उनीहरुले नटेरे पनि प्रहरी आफैँले हटाउन थालेको हो। दलहरुले चुनावी प्रचारका सामग्री हटाउन आनाकानी गरेपछि प्रहरीले नै हटाउन थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रकाश अधिकारीले जानकारी दिए। ‘सिडियो सापले पनि चुनावी प्रचारका सामग्री हटाउन भनेर सम्बन्धित दलका नेतालाई भन्नु भएको थियो,’ अधिकारीले भने, ‘तर, अहिलेसम्म कतै पनि कसैले पनि चुनावी प्रचारका सामग्रीहरु नहटाएकाले हामीले सरसफाई पनि गरौँ प्रचारका सामग्री पनि हटाऔँ भनेर काम गरिरहेका छौँ।’ दलहरुले अटेर गरे पनि जिल्ला सुरक्षा समितिकै बैठकमा प्रचार सामग्री हटाउने निर्णय भएको थियो। करिब ३ सय नेपाल प्रहरी र म्यादी प्रहरीको सक्रियतामा गोरखा नगरपालिका सरसफाई गर्ने काम भइरहेको डिएसपी भेषराज रिजालले जानकारी दिए। ‘प्रचार सामग्री हटाउने भनेर दलहरुलाई पनि भन्यौँ,’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘अहिले बजार सरसफाई सँगै चुनाव प्रचारका सामग्रीहरु हटाउन थालेका छौँ। बजारमा सकिएपछि गाउँ–गाउँमा पनि यो अभियान सुरु हुन्छ।’
Read more at: http://thahakhabar.com/news/28362