पुस २, २०७४-उवा, जौं, गहुँ, फापरजस्ता खेती उच्च हिमाली क्षेत्रमा एकादेशको कथाजस्तै बन्दै गएको छ । यस्ता अन्नबाली पाक्ने जमिनमा अहिले आलुखेती मात्रै हुन थालेको छ । आलुबाहेकका खेतीको अहिले बिउसम्म नपाइने स्थानीयवासी बताउँछन् । ‘पाइहाले कसैकसैकोमा उवाको बिउ पाइएला नत्र पाउनै मुस्किल छ,’ घुन्साका च्युमे शेर्पाले भने, ‘आलुबाहेकको खेती हुनै छोड्यो ।’
पहिला तिब्बतबाट खाद्यान्न नआउँदासम्म लगाएको त्यसपछि अन्नबाली लगाउन छोडेको घुन्साका च्युमे शेर्पा बताउँछन् । ‘उता (तिब्बत) बाट नआउँदासम्म बाध्यता थियो । उताबाट आउन थालेपछि खेती गर्नुभन्दा किन्नै फाइदा हुनथाल्यो । त्यसपछि सबै चौंरीलाई बोकाएर उतैबाट ल्याउन थाल्यौं,’ च्युमेले भने, ‘अहिले त ती बाली लगाउने कसैले कुरासम्म पनि गर्दैन ।’
हिमाली क्षेत्रमा चैतमा लगाएको आलु भदौमा मात्रै उत्पादन हुन्छ । हिउँदको जाडो सकिएपछि आलु रोपिन्छ । ‘पहिले–पहिले मंसिरमा हिउँ पर्न थाल्थ्यो । मानिसहरू सबैले बस्ती छाडेर जाडो छल्न ओरालो झर्थे । फागुन १५ पछि बल्ल फर्कन्थे । फर्किएपछि माटो तयारी थाल्थे र मल हालेर आलु रोप्थे,’ च्युमेले खेती प्रणालीबारे भने, ‘अहिले फागुन अन्तिमदेखि नै माटो बनाउन थाल्छन् र चैत सुरुदेखि नै रोप्न सुरु हुन्छ ।’
यी सबै क्षेत्रका बासिन्दाले लेलेप, इखाबु, तापेथोकलगायतका तल्लो क्षेत्रबाट गएकाहरूलाई बिउ बिक्री गर्छन । घुन्साको आलु याम्फुदिनमा पुर्याइन्छ । चौंरीलाई दुई दिन बोकाएर याम्फुदिनमा बिक्री गरिन्छ । धेरैले कोदो, धानलगायतका अन्नबालीसँग साट्छन् । अहिले पनि अन्नभन्दा आलु सस्तो रहेको घुन्साका डण्डुले बताए । दुई पाथी कोदोले ५ पाथी आलु पाइन्छ । त्यो पनि बस्तीमै पुर्याउँदा । मासु जोख्न मात्रै ढक तराजुको प्रयोग हुने हिमाली क्षेत्रमा बाँकी काममा मानापाथीको चलन छ । हिमाली क्षेत्रमा एक परिवारले सबैभन्दा धेरै ३५ मुरी (२१ क्विन्टल) कम १० मुरीसम्म फलाउँछन् ।
यसरी राख्छन् आलु
आलुलाई सुरक्षित गर्न हिमाली क्षेत्रमा खाल्टोमा हालेर राखिन्छ । प्रत्येक परिवारले आफ्नो घरछेउमा खाल्टो खन्छन् । आलु खन्ने र खाल्टो खन्ने समय भदौ नै हो । भदौमा खनेको खाल्टोलाई मज्जाले सुक्न दिन्छन् भने आलुलाई पनि घरको माथिल्लो तलामा मंसिरसम्म नै सुकाउँछन् । एक वर्ष खनेको खाल्टोलाई वर्षौसम्म प्रयोग गरिन्छ । त्यही खाल्टोमा सुकेको आलु लगाइन्छ । आलुको माथिबाट माटोको ठूलठूलो चपरीले छोपिन्छ । त्यसमाथि झ्याँस हालिन्छ । चैतमा मात्रै निकाल्ने भएकाले निकै व्यवस्थित ढंगले राख्ने घुन्साका डण्डु शेर्पा बताउँछन् । कञ्चनजंघा जाने पर्यटकलाई बिक्री गर्न र खान यसको प्रयोग हुन्छ ।
आलुमा आत्मनिर्भर बन्दै
वार्षिक २ अर्ब मूल्य बराबरको उत्पादन गर्ने यो जिल्ला आलुमा आत्मनिर्भर बन्ने प्रयासमा छ । जिल्लामा उत्पादित आलुले नधानेर बाहिरी जिल्लाबाट समेत ल्याउनुपरेपछि जिल्ला कृषि विकास कार्यालयले किसानहरूलाई यसतर्फ डोर्याएको हो ।
किसानलाइ परम्परागत खेती प्रणालीबाट मुक्त गराई आधुनिक खेतीमा लगाउनु कार्यालयको
मुख्य ध्येय रहेको छ । यसका लागि फुङलिङ नगरपालिका ९ हाङदेवाको बुङकुलुङ क्षेत्रलाई पकेट क्षेत्र बनाई बिउ आलु उत्पादन सुरु गरिएको छ । यहाँ उत्पादित आलु कार्यालयले जिल्लाभरि वितरण गरिरहेको छ । बिया, टीबीएस ६८ र पीपीएस जातको आलुको बिउ उत्पादन गरिएको कृषि विकास कार्यालयले जनाएको छ । ठूला दाना फल्ने र एकै झाङमा धेरै दाना लाग्ने भएकाले कम क्षेत्रफलमा धेरै उत्पादन हुन्छ ।
धानभन्दा आलुको राम्रो
उत्पादन हुने जिल्लामा उच्च हिमाली भेगका ओलाङचुङगोलाको याङमा, लेलेपको खम्बाछेन, घुन्सादेखि तमोर नदी किनारसम्म नै खेती गरिन्छ । तर व्यावसायिक प्रयोजनका लागि कम खेती हुन्छ । ‘आफूले खाने र थोरै बिक्री गर्ने हिसाबले मात्रै खेती हुँदै आएको थियो,’ ताजा तरकारी उत्पादक कृषक समूह बुङकुलुङका अध्यक्ष पासाङरिता शेर्पाले भने, ‘अब व्यावसायिक तरिकाले खेती सुरु गरेका छौं ।’ खुला आकाश र टनेल लगाएर दुवै विधिले खेती गर्ने नीति लिएको उनले बताए । पहिलो चरणमा १० परिवारले बिउका लागि आलु उत्पादन गरेका छन् ।
हिमाली क्षेत्रमा भातको साटो एक छाक आलु मात्रै खाने भएकाले जिल्लामै धेरै खपत हुने घिमिरे बताउँछन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा ४८ हजार ३ सय ४५ ट्रन आलु उत्पादन भएको थियो । न्यूनतम २५ देखि अधिकतम ८५ रुपैयाँ किलोले किनबेच भएको यसको औसत मूल्य प्रतिकिलो ४० रुपैयाँ मात्रै राख्दा पनि १ अर्ब ९३ करोड ३८ लाख मूल्य बराबरको उत्पादन भएको कार्यालयको दाबी छ ।
०७३/७४ मा खेती व्यापक रूपमा विस्तार भएको छ । असिना, पानी, हुरी, बतास, रोगकीराजस्ता प्रकोपले उत्पादनमा असर पार्ने गरेको छ । तर गत वर्षदेखि सरकारले बिमाको समेत व्यवस्था गरेपछि किसान उत्साही भएर खेती वृद्धिमा लागेको घिमिरेले बताए । जिल्लामा वर्षे र हिउँदे गरी
दुईपटक आलु उत्पादन हुने गरेको छ । हिउँदे कम र वर्षे बढी उत्पादन हुन्छ । अहिलेसम्मको तथ्यांकअनुसार ३ हजार ९ सय २५ हेक्टरको हाराहारिमा आलु खेती हुन्छ ।
ओलाङचुङगोलाको याङमामा उत्पादित आलु केही चीनको तिब्बत गए पनि बाँकी नेपालमै खपत हुने गरेको छ । जिल्लाका हिमाली पापुङ, नाल्बु, याम्फुदिन, लेलेपलगायतका गाविसमा मुख्य रूपमा आलुखेती हुन्छ । याङमामा उत्पादन हुने आलुको बिउ इखावु, तापेथोक, लिंखिम, फुरुम्बु, सावादिन, खेजेनिमलगायतका तल्लो क्षेत्रका गाविसमा ल्याएर बिक्री गरिन्छ । हिउँ पर्ने सिजनमा चौंरी, याकलाई बोकाएर चेनेसम्म ल्याउने र तल्लो क्षेत्रबाट बिउ साट्न अन्न लिएर त्यहाँसम्म जाने गरेका छन् । हाङदेवाको बुङकुलुङ, नाङखोल्याङको खोक्से, ताप्लेजुङ नगरपालिकाको उकालीपानी सदरमुकामको माथिल्लो भेग आलु फल्ने मुख्य ठाउँ हुन् । ४८ गाविस र एक नगरपालिका रहेको जिल्लाका सबै गाविसमा थोर बहुत आलुखेती हुने गरेको कार्यालयले जनाएको छ । पाथीभरा दर्शनका लागि आउने वार्षिक २ लाख र कञ्चनजंघा क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकलाई पनि यहाँको आलुले धानेको कार्यालयको दाबी छ ।
१ लाख २७ हजार जिल्लाको जनसंख्या र बाहिरबाट आउने वार्षिक ३ लाख पर्यटकलाई धान्न बाहिरबाट केही आलु ल्याउनु अनौठो नभएको कार्यालयको बुझाइ छ । यो वर्ष १० टन आलुको बिउ भण्डारणका लागि भवन निर्माणमा कार्यालयले किसानलाई सहयोग गरेको छ ।
http://kantipur.ekantipur.com/news/2017-12-17/20171217075103.html