2024 views 1 sec 0 comments

वातावरण संरक्षणका लागि बुटिक चौतारी…

In देश, समाज
२४ जेष्ठ २०७६, शुक्रबार १२:३९

संरक्षणको अभावमा शहरी क्षेत्रका चौतारा लोप हुँदै गएको वास्तविकतामा यहाँका दुई संस्थाको अगुवाइमा गरिएको बुटिक चौतारी निर्माण यतिखेर उदाहरणीय बनेको छ ।

पोखराको हरियाली एवं वातावरणीय सुन्दरतासँगै पैदलयात्रीको विश्रामस्थलका रुपमा लिइएका बुटिक चौतारी सडकको दायाँबाँया निर्माण गरिएका छन् । सिद्धार्थ राजमार्गसँग जोड्ने मुख्य सडकखण्डको नागढुङ्गादेखि पृथ्वीचोकसम्म ७०० मिटर लम्बाइ क्षेत्रमा लगभग रु आठ लाखको लागतमा कूल ८७ चौतारा निर्माण गरिएका छन् ।

पोखरा महानगरपालिका वडा नं ८ र ९ को सिमानास्थित सडकको पश्चिमतर्पm महानगरको रु दुई लाख र वडास्तरीय बजेट रु दुई लाख जनसहभागितामा ४४ चौतारी निर्माण गरिएका नागढुङ्गा चौतारी उपभोक्ता समितिका अध्यक्ष विनोद लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार साना–साना एकै खालका गोलाकार ढुङ्गाबाट निर्माण गरिएका प्रत्येक चौतारी दुई फिट उचाइ र सात फिट गोलाइका छन् ।

नागढुङ्गा युवा क्लब र लायन्स क्लब अफ फेवा सिटीद्वारा तीन वर्षअघि संयुक्तरूपमा १०० भन्दा बढी बिरुवा रोपिएको जानकारी दिँदै लामिछानेले चौतारी निर्माणले यस क्षेत्रको वातावरण संरक्षणसँगै सौन्दर्यतामा समेत वृद्धि ल्याएको बताउनुभयो । त्यस्तै सडकको पूर्व वडा नं ९ तर्पm करीब रु चार लाखको लागतमा ४३ चौतारी निर्माण गरिएका छन् । साना रुख संरक्षणका लागि चौतारी निर्माण समितिका अध्यक्ष कमल काप्mलेका अनुसार सडक किनारमा रहेका बिरुवाको संरक्षणसमेतको उद्देश्यका साथ चौतारी निर्माण गरिएको हो ।

चौतारी निर्माणमा रु चार लाखभन्दा बढी खर्च भएको बताउँदै उहाँले पोखरा वडा नं ९ को रु तीन लाख ८७ हजार र बाँकी रकम स्थानीय जनश्रम परिचालन गरिएको जानकारी दिनुभयो । सो क्षेत्रका सडकको दुवै किनाराका फुटपाथमा कपुर, एभोकाडो, लिची, अम्बा, आँप, हलुवावेद, कल्की, निम, चाँपलगायतका सदाहार प्रजातिका बिरुवा लगाइएको बताउँदै उहाँहरुले बिरुवा र चौतारीको संरक्षण चुनौतीपूर्ण रहेको बताउनुभयो ।

महानगरलाई हरित शहरका रूपमा विकास गर्ने अभियानलाई चौतारा निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गरेको महानगरका प्रमुख मानबहादुर जिसीले जानकारी दिनुभयो । एक घर दुई बिरुवा अभियान सञ्चालन गर्ने हो भने पोखरा केही वर्षको अवधिमा नै वातावरणमैत्री शहरका रुपमा विकास हुने उहाँले बताउनुभयो ।

कंक्रिट विकासले तीव्रता पाएको वर्तमान अवस्थामा चौतारा संरक्षणका लागि गरिने प्रत्येक प्रयासमा महानगरको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यस्ता नमूना कार्यलाई नगरवासीको सक्रिय सहभागितामा शहरका विभिन्न मागमा विस्तार गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले सडक निर्माणकार्य पर्याप्त भइसकेको बताउँदै आगामी दिनमा वातावरण तथा कृषिजन्य उत्पादनमा जोड दिइने बताउनुभयो ।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न हरियाली बढाउनुपर्नेमा जोड दिँदै महानगरका इञ्जिनीयर सुरेन्द्र पौडेलले कंक्रिट बस्ती विकास र जथाभावी खानेपानी बोरिङ खन्ने प्रवृत्ति पोखराको चुनौती रहेको जानकारी दिनुभयो । चौतारैचौतारा र पोखरीको शहरको रूपमा परिचित पोखरामा विसं २०५८ सम्म ६०० भन्दा बढी चौतारा रहेको तथ्याङ्क रहे पनि अहिले २९८ मात्र बाँकी रहेका नागरिक समाजका अगुवा रामबहादुर पौडेलले जानकारी दिनुभयो ।

सडक निर्माण, घर एवं मठमन्दिरको संरक्षणका लागि भन्दै वर, पिपल र सम्मीसहितका ऐतिहासिक चौताराका रुख काट्ने र जग्गा हडप्ने प्रवृत्तिलाई निरुत्साहित पार्दै प्राचीन धरोहर एवं सार्वजनिकस्थलको संरक्षणमा स्थानीय तह, जनप्रतिनिधि र सिङ्गो समाज सङ्गठित भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । गण्डकी प्रदेशसभाले वर, पिपल तथा चौतारो संरक्षणसम्बन्धी ऐन, २०७५ पारित गरी कार्यान्वयनमा समेत ल्याइएको छ । (तस्वीर उपलब्ध छ)
––– रासस