त्रिदेशीय ह्विलचेयर क्रिकेट शृंखलाको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै नेपाल र बंगलादेशका खेलाडी । अन्नपूर्ण
त्रिदेशीय ह्विलचेयर क्रिकेट
काठमाडौं : पहिलो अन्तर्राष्ट्रिय टीट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेट शृंखलामा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । बिहीबारबाट काठमाडौंमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल नौ विकेटले विजयी भयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित २० मध्ये १३ ओभरमै अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सक्यो ।
बंगलादेशको पालिमा मोहम्मद रिपन उदिनले सर्वाधिक १८ रन बनाए । यसैगरी सजाद हुसेन र मोहम्मद मोहिदुल इस्लामले समान १६÷१६ रन बनाए । बंगलादेशका पाँच ब्याट्सम्यानले खाता खोल्न नसकेको उक्त खेलमा अतिरिक्तबाट १४ रन पाएको थियो । बंगलादेशलाई कम योगफलमै समेट्न नेपालका विपिन पौड्यालले चार विकेट लिए भने यामबहादुर श्रेष्ठले दुई विकेट हात पारे ।
यसैगरी ७८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १३ ओभरमै एक विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान डिगमसिंह चेम्जोङले अविजित ३५ रन बनाए । ४६ बलको सामना गरेका उनले तीन चौका हिर्काए । नवीन राई १६ रन बनाउँदै पेभेलियन फर्किए भने जंगबहादुर थापाले अविजित ११ रन बनाए । नेपालले अतिरिक्तबाट १६ रन पायो।
बंगलादेशका बलर मोहम्मद रोजनले एक विकेट हात पारे । चार विकेट लिएका विपिन पौड्याल खेलको म्यान अफ दी म्याच घोषित भए । जितसँगै नेपालले दुई अंक जोडेको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछ । पहिलो खेल भारत र बंगलादेशबीच हुनेछ भने दोस्रो खेलमा घरेलु टोली नेपालले भारतको सामना गर्नेछ । प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीबीच शनिबार फाइनल खेल हुनेछ ।