
काठमाडौं – पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेन्ड्स क्लबले गोलरहित बराबरीमा रोकेको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार सम्पन्न पहिलो खेलमा फ्रेन्ड्सले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अंक बाडेका छन्। आर्मी कप्तान भरत खवास बिनै मैदानमा उत्रिएको थियो।
दोहोरो पहेलो कार्डका कारण भरत यो खेलमा उपस्थित नभएका हुन्। खेलमा आर्मीको आधा दर्जनभन्दा बढी प्रहारलाई फ्रेन्ड्सका गोलरक्षक देव लिम्बूले विफल बनाइदिएका थिए। खेलमा फ्रेन्ड्सका देव लिम्बु म्यान अफ दि म्याच घोषित भए। यस खेलसँगै ६ खेल खेलेको आर्मी ४ जीत र २ बराबरीसँगै १४ अंक जोडेको छ।
लिगको अंक तालिकामा भने आर्मी चाैंथो स्थानमा यथावत् छ। आर्मीले दोस्रो स्थानमा उक्लिने मौका समेत गुमाएको छ। त्यस्तै समान खेल खेलेको फ्रेन्ड्स पनि पाँच अंकका साथ लिगको दशौँ स्थानमा यथावत् छ।