इपिएलमा नाटकीय खेलः ८५ रनको लक्ष्य भेट्न नसकेपछि विराटनगरले सुपरओभरमा जित्यो

In खेलकुद
२५ मंसिर २०७५, मंगलवार १६:३१

काठमाडौं। एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोज र विराटनगर वारियर्सबीचको खेल नाटकीय रुपमा अन्त्य भएको छ । सुरुमा पाएको ८५ रनको लक्ष्य पनि भेट्टाउन नसकेको विराटनगरले अन्ततः सुपरओभरमा खेल जितेको छ । पहिले ब्याटिङ गरेको पोखराले ८४ रन बनाउँदै ८५ रनको विजय लक्ष्य दिएकोमा विराटनगर पनि ८४ रनमै अलआउट भएपछि खेल सुपरओभरमा गएको थियो । सुपरओभरमा विराटनगरले ७ रनले खेल जित्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पोखराको सुरुवात राम्रो हुन सकेन । विष्फोटक ओपनिङ ब्याट्सम्यान रिचर्ड लेभीलाई ३ रनमै गुमौको पोखराको स्कोर १९ रन हुँदा ४ विकेट गुमाइसकेको थियो । पल कग्लिनले २० र राजेश पुलामीले १७ रन बनाएपछि पोखराको स्कोर केही उकासिएको थियो । यी दुईबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा पनि २३ एक्स्ट्रा रन पाएपछि पोखराको स्कोर ८४ रन पुगेको थियो । विराटनगरले १५ रन त वाइड बलबाटै दिएको थियो ।

८५ रनको झिनो लक्ष्य पच्छ्याउँदै मैदानमा उत्रिएको विराटनगरले ब्याटिङ क्रममा परिवर्तन गरेको थियो । कप्तान पारस खड्का आफैं ओपनिङ गर्न आएका थिए तर उनको यो रणनीति सफल हुन सकेन । कप्तान खड्का १ रनमै आउट भए भने अर्का ओपनर अनिल शाह शून्यमै पभेलियन फर्किए । त्यसपछि लगातार धराशायी हुँदै गएको विराटनगरको स्कोर ५६ रन पुग्दा ७ विकेट गुमाइसकेको थियो । त्यसपछि करण केसीले केही ठूला सट खेलेर टिमको स्कोरलाई ७९ रन पु¥याएका थिए । तर, अठारौं ओभरको चौथो बलमा उनी पनि आउट भएपछि विराटनगरको रनको गति मन्द भयो । अन्ततः ८४ रनमा स्कोर बराबरी हुँदा विराटनगर अलआउट भयो ।

त्यसपछि निर्णायक सुपरओभरमा भने करण केसी नै जीतका नायक बने । कप्तान पारस खड्कासँग सुपरओभरमा ब्याटिङ गर्न आएका करण केसी पूरै ओभर आफैं स्ट्राइकमा रहे । सुपरओभरमा उनले २, २, ६, २, ६, २ रन गरी २० रन बनाए । जवाफी ब्याटिङमा उत्रिएको पोखराले भने १ ओभरमा १३ रन मात्र बनाउन सक्यो । रिचर्ड लेभी र विनोद भण्डारी ब्याटिङमा आउँदा लेभी स्ट्राइकमा थिए । सुपरओभरमा पोखराले ०, १, ६, १, १, ४ गरी १३ रन मात्र बनाउन सक्यो । रेगुलर इनिङ र सुपरओभर दुवैमा सर्वाधिक स्कोर बनाएका करण केसी म्यान अफ द म्याच भए ।