दक्षिण एसियाली महिला फुटबल विराटनगरमा

In खेलकुद
१४ मंसिर २०७५, शुक्रबार ११:४६

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २७ बाट सुरु हुने पाँचौं दक्षिण एसियाली महिला फुटबल (साफ) विराटनगरमा आयोजना गर्ने जनाएको छ।

एन्फा प्रवक्ता किरण राईले चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता विराटनगरको सहिद रंगशालामा गराइने बताए। ‘उपत्यकामा रंगशालाको अभावका काण यस पटक प्रतियोगिता उपत्यकाबाहिर आयोजना गर्न लागिएको हो,’ राईले भने।

यसअघि गत साता श्रीलंकाले च्याम्पियनसिप आयोजना नगर्ने भनेपछि अनिश्चित बनेको प्रतियोगिता नेपालमा हुने पक्का भएको थियो। प्रतियोगिताको मिति साफले निर्धारित समयभन्दा एक महिना पछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको थियो।

यसअघि पुस २ गतेबाट सुरु हुने गरी साफले खेलतालिका सार्वजनिक गरेको थियो। तर आयोजनाको जिम्मा लिएको श्रीलंकाले प्रतियोगिता आयोजना नगर्ने भन्दै साफलाई जबाफ दिएको थियो। त्यसछि साफले नयाँ मितिका साथ नेपालाई आयोजनाको प्रस्ताव गरेको थियो।