566 views 4 secs 0 comments

हिँडेरै ७७ जिल्ला पुग्ने शरदको योजना

In समाज
२९ मंसिर २०७४, शुक्रबार ११:५५

काठमाडौं : काभ्रे नमोबुद्धका १८ वर्षीय शरद कोइरालाको सानैदेखि इच्छा थियो, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने। इच्छा राख्दैमा उद्देश्य चुम्न सकिँदैन भन्ने पनि उनलाई थाहा छ। तर, जीवनको एक मात्र लक्ष्यलाई सार्थक पार्न पूर्व तयारी स्वरूप उनले अहिले एउटा अभियान थालेका छन्, ‘हिँडेरै मुलुकको ७७ जिल्लाको सदरमुकाम छुने।’

सगरमाथा चुम्ने लक्ष्य लिएका व्यक्तिले किन पैदल यात्रालाई रोज्नुपर्‍यो त ? ‘एकै पटक सगरमाथा चढ्न गइयो भने कठिन हुन्छ। त्यसैमाथि सगरमाथा चढ्न केही आर्थिक जोहो पनि गर्नुपर्ने हुन्छ’, कक्षा १२ पढ्दै गरेका शरद भन्छन्, ‘७७ जिल्लाको सदरमुकाम पुगिसकेपछि यसैको संस्मरण समेटेर पुस्तक लेख्छु। पुस्तकबाट आर्जन भएको रकमबाट सगरमाथा चढ्ने अभियानको सुरुवात गर्छु।’ भदौबाट पैदल यात्रा सुरु गरेका शरद अहिलेसम्म ३४ जिल्ला सदरमुकाम पुगिसकेका छन्। ‘१५ महिनाको अवधिमा सबै जिल्ला पुग्ने योजना छ’, कोइरालाले भने, ‘मुलुकमा शान्ति, मेलमिलाप तथा राजनीतिक स्थिरता कायम गर्नु मेरो पैदल यात्राको मूल सन्देश हो।’

यात्रामा उनले एकै दिनमा ४६ किलोमिटरसम्म हिँडेका छन्। पैदल यात्रा सुरु गर्नुअघि उनीसँग खल्तीमा सात सय रुपैयाँ मात्र थियो। ‘त्यो पैसा दुई दिनमै सकियो। कति दिन त भोकै पनि हिँडेँ। कुनै जिल्लामा पुगेपछि जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयमा खाना खाएँ’, भक्तपुरमा कपडा पसल सञ्चालन गरिरहेका बाबुआमाका एक मात्र छोरा शरदले भने, ‘बाबुआमासँग पैसा मागेको छैन। उहाँहरूसँग पैसा नमागी यात्रा सफल पार्ने योजना बनाएको छु।’ यात्रामा धेरैजसो जिल्लामा सबैको साथ पाएको उनले बताएका छन्।

आफू पुगेको हरेक जिल्लामा प्रशासन कार्यालयबाट यात्रा गरेको प्रमाणित पत्र लिने गरेका छन् कोइरालाले। ‘कतिपय जिल्लामा पुगेर मैले यति जिल्लाको हिँडेरै यात्रा गरिसकेँ भन्दा धेरैले पत्याउँदैनन्। त्यसैले प्रमाणका लागि पत्र लिने गरेको हुँ’, ३४ जिल्ला पुगेको प्रमाण देखाउँदै शरदले भने। काभे्रबाट सुरु गरेका उनले यात्रालाई भक्तपुरमा पुगेर टुंग्याउने योजना बनाएका छन्।