
चरिकोट : संघीय संरचनाअनुसार पहिलोपटक भएको निर्वाचनपछि निजी क्षेत्र उत्साही बनेको छ। निर्वाचनपछि पाँच वर्षका लागि स्थिर सरकार निर्माण हुने र त्यस क्रममा धेरै काम गर्न सकिने भन्दै निजी क्षेत्र उत्साही बनेको हो।
लामो समयदेखि जनप्रतिनिधिविहीन दोलखामा सरकार परिवर्तनै पिच्छे परिवर्तन हुने सरकारी नीति र कर्मचारीका कारण ठोस काम हुन नसकेको थिएन। अब बन्ने सरकार स्थिर हुने निजी क्षेत्रको विश्वास छ। यस्तै प्रदेश अनुसार सरकार बन्ने भएकाले पनि अझ काम गर्न सहज हुने उद्योगी व्यवसायीको भनाइ छ।
दोलखामा शनिबार सम्पन्न मतगणनापछि तीन जना नयाँ जनप्रतिनिधि निर्वाचित भएर प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन्। उनीहरूले पाँच वर्षसम्म दोलखाको समृद्धिका लागि काम गर्ने भएकाले उनीहरूसँगै सहकार्य गरेर काम गर्न इच्छुक रहेको नेपाल उद्योग वाणिज्य महासंका केन्द्रीय सदस्य सुर्दशन कार्कीको भनाइ छ। उनले तीन प्रदेशमा पनि लगानीकर्ताका लागि सबैभन्दा उपयुक्त जिल्ला दोलखा रहेको भन्दै जनप्रतिनिधिले तिब्बती नाका खोल्न ठोस पहलको आवश्यकता रहेको बताएका छन्।
निर्वाचनपछि पाँच वर्षका लागि स्थिर सरकार निर्माण हुने र त्यस क्रममा धेरै काम गर्न सकिने भन्दै निजी क्षेत्र उत्साही बनेको हो।
दोलखा उद्योग वाणिज्य सघंका अध्यक्ष सुन्दर कार्कीले जनप्रतिनिधिको अबको ध्यान ठूला लगानीकर्तालाई लगानी गर्ने वातावरण मिलाइदिने, लामाबगर-फलाक नाका खुलाउने, पर्यटकीय क्षेत्रमा पूर्वधार निर्माण गरिदिने, माथिल्लो तामाकोसी ३ आयोजनालाई स्वदेशी लगानीमा निर्माणका लागि पहलकदमी गर्नेलगायत रहेको बताए। यसैगरी, स्थानीय स्रोत साधान सदुपयोग गरी साना तथा ठूला उद्योग सञ्चालनका लागि वातावरण बनाइ दिए पाँच वर्षभित्र नमुना दोलखा निर्माण हुने बताए। यस्तै भीमेश्वर नगरपालिकाको लाँकुरीडाँडामा निर्माण हुन लागेको फिल्म सिटीलाई पनि तीव्रता दिन आवश्यक रहेको बताए।
अध्यक्ष कार्कीले निजी क्षेत्रले लगानी गर्न सरकारले लगानी सुरक्षाको जिम्मा लिए मात्र पुग्ने बताए। स्थिर सरकार नभएकै कारण ठूला लगानीकर्ताले दोलखामा लगानी गर्न डराइरहेको समेत उनले जानकारी दिए।
लामाबगर-फलाक नाका मात्र खोल्न सके पनि दोलखालीको भाग्य र भविष्य चम्किने भएकाले जनप्रतिनिधिले सबैभन्दा पहिला यो नाका खोल्न पहल गर्नुपर्ने दोलखा उद्योग वाणिज्य सघंका सदस्य नारायण ठकुरीको भनाइ छ। उनले पटकपटक परिवर्तन हुने सरकारभन्दा पाँच वर्षसम्म बन्ने स्थिर सरकारले देशको विकासमा टेवा पुर्याउनेमा आफूहरू विश्वस्त रहेको बताए।
सरकारबाट उद्योगधन्दा सञ्चालनका लागि स्पष्ट नीति नभएकै कारण आफूहरू समस्यामा परेको भन्दै अब बन्ने सरकारले त्यसप्रति पनि ध्यान दिनेमा आफूहरू ढुक्क रहेको व्यवसायी पृथ्वी श्रेष्ठको भनाइ छ। यस्तै युवा उद्यमी सुरेश उप्रेतीले सरकारले लगानीको ग्यारन्टी नगरेकै कारण धेरै ठाउँमा लगानी गर्न व्यवसायी डराइरहेको अवस्थामा निर्वाचनपछि स्थिर सरकार बन्ने र लगानीकर्ता पनि बढ्नेमा आफूहरू विश्वस्त रहेको बताए। जिल्लामा ठूला उद्योग सञ्चालन नभएकै कारण हजारौं युवा रोजगारीका लागि विदेश जानु परेको ठहर स्थानीयको छ।