बाबुराम समर्थक: गोरखामा भट्टराईले गर्ने जति विकास कसले गर्यो?
नारायणकाजी समर्थक : उसले जस्तो पार्टी कसले चाहार्यो? नयाँ शक्ति, फोरम, वाम गठबन्धन अनि कांग्रेस।
बाबुराम समर्थक : भट्टराईले जिते गोरखा र देशकै विकास हुन्छ।
नारायणकाजी समर्थक: अब वाम गठबन्धन ठूलो पार्टी बन्छ। उसले जिते मात्र विकास हुन्छ।
गोरखाको खहरेमा स्थानीय महिलाहरू बीचको यस्तै संवाद गोरखा-२ का टोलटोलमा सुनिन्छ। यहाँ बाबुराम भट्टराई नयाँ शक्तिबाट र नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रबाट प्रतिनिधि सभाका लागि प्रतिष्पर्धामा छन्।
चुनावी प्रतिष्पर्धामा उत्रिएका दुई नेतामा कसलाई रोज्ने भन्ने चुनौती गोर्खालीलाई छ। राजनीतिक रूपले सचेत मुलुकभरका मानिसलाई गोर्खालीले कसलाई रोज्लान् भन्ने चासो छ। यही चासोलाई पछ्याउँदै हामीले गोरखा-२ का विभिन्न गाउँटोल छिचोलेर २ सय किलोमिटर भ्रमण गर्यौं र २ सय मतदातासँग कुरा गर्यौं।
गोरखा सदरमुकामबाट खैरेनीतर्फ ७ किलोमिटर तल सडकको छेवैमा दाहिनेपट्टि २७ वर्षीया रचना खड्काको पसल छ। उनको पसलमा चुरा, पोते अनि मेकअपका सामान सजाइएका छन्।
गाह्रक नहुँदा उनी आजकाल निर्वाचन प्रचार हेरेर बस्छिन्।