566 views 5 secs 0 comments

सिँचाइ कुलो भत्किदा दशकदेखि खेत बाँझै

In समाज
२९ मंसिर २०७४, शुक्रबार ११:१६
बैतडी : जिल्लाको दक्षिणी क्षेत्र मेलौली नगरपालिकाको वडा नं १ मुन्द्रेस्यालतडीमा मंसिरको आधाआधीमै खेत हरियाली भइसक्थ्यो। तोरी फुलेर गाउँ नै पहेँलपुर हुन्थ्यो। तर १२ वर्षयता सो गाउँमा रहेको २०५ रोपनी मैदानी फाँट बाँझो छ। गाउँमा रहेका सबै घर जीर्ण भइसकेका छन्। २०६२ साल भदौंमा आएको पहिरोले गाउँमा आउने सिँचाइ कुलो बगाएपछि त्यो क्षेत्रका ५० घरपरिवार उठिबास भएको हो। आफ्नो गाउँमा हुने खेतीपाती, फलफूल र रहनसहन सम्झिँदा जयदत्त भट्टका आँखा रसाउँछन्। भन्छन्, ‘नदीकिनारमा हाम्रो मैदानी फाँट खेत थियो, ५० घरपरिवार मिलेर बसेका थियौं, वर्षको तीन खेती हुन्थ्यो, सम्झेर के गर्नु ? हाम्रो आशा भरोसा सबै पहिरोले लग्यो।’

खेतमा सिँचाइ हुने कुलो पहिरोले भत्काएपछि सिँचाइ कुलो निर्माणका लागि सरकारी, गैरसरकारी धेरै निकायमा मुन्द्रेस्यालतडीका स्थानीयबासीले धाए। तर कुलो निर्माणका लागि कतैबाट सहयोग नपाएपछि उनीहरू थातथलो नै छाड्न बाध्य भए। भट्ट भन्छन्, ‘२०६२ भदौमा आएको पहिरोले करिब पाँच सय ५० मिटर कुलो भत्काएपछि खेतीयोग्य जमिनमा सिँचाइ गर्न नपाउँदा ठाउँ नै छोड्न बाध्य भयौं। खेतीयोग्य जमिन बाँझो छाडेर मेलौली नगरपालिकाको महारुद्रमा छरिएर बसिरहेका छौं।’

एकैठाउँमा बस्ने परिवार छरिएर बस्दा निकै पीडा भएको स्थानीय लालमणि भट्टले बताए। दुःख पीडा हुँदा एकैसाथ रहने परिवार अहिले भेटघाट हुनसमेत मुस्किल परेको उनले बताए। ‘मुन्द्रेस्यालतडीमा सिँचाइ कुलो भत्किएपछि बाध्य भएर विस्थापित भयौं। हाम्रो खेतीयोग्य जमिनमा अहिले सिस्नो र झारपात उम्रेको छ। गहुँका बाला लहलह झुल्ने, प्रशस्तै तोरी, मकै र धान फल्ने जमिनमा अहिले सिस्नो फुलेको छ। झाडी हुन थालेको छ। कहिलेकाँही सम्झँदा मन भक्कानिएर आउँछ’, स्थानीय गंगादत्त भट्टले भने, ‘आफ्नो थातथलो छाडेदेखि हामीहरू छरिएर बसेका छौं। स्यालतडीमा बस्दासम्म बारीमा फलेको अन्न वर्षभरि खाएर बाँकी रहेको बेच्ने गथ्र्यौ तर अहिले तीन महिनाका लागि महारुद्रमा मुस्किलले अन्न फल्छ, दिनभरी मजदुरी गरेर छाक टार्छौं।’

आफैंले परम्परागत रूपमा निर्माण गरेको लगभग तीन किलोमिटर लामो कुलोबाट सुर्नया नदीको पानीले खेतमा सिँचाइ गर्दै आएका थिए मुन्द्रेस्यालतडीबासी। तर २०६२ सालमा सो कुलो भत्किएपछि उनीहरूले थातथलो नै छोड्न बाध्य भए। कुलो निर्माणका लागि स्थानीयस्तरबाट सम्भव नभएपछि धेरैपटक तत्कालीन जिविस पनि धाए उनीहरूले। तर कुलो निर्माणका लागि कसैले चासो नदिएको स्थानीयबासीको आरोप छ। ‘वडादेखि तत्कालीन गाविस, इलाका हुँदै जिल्ला परिषद्सम्म योजना पुर्‍यायौं तर कसैले बजेट छुट्याएनन् अनि के गर्नु ? ‘, स्थानीयबासी तारादत्त भट्टले भने।

नदीकिनारको उब्जाउ भूमि मुन्द्रस्यालतडीमा वर्षमा तीन खेती हुने गरेको थियो। ‘आफूले फलाएको अन्न बेचेर घर गुजारा चलाएका थियौं। मसिनो चामलको भात खाने गर्दथ्यौं। तर अहिले जहान परिवार पाल्न श्रीमानलाई भारत पठाएकी छु। आफूले दैनिक मजदुरी गर्छु’, स्थानीय धाना भट्टले भनिन्

। धान फल्ने मैदानी फाँट बाँझो बञ्जर भूमिमा परिणत भएपछि त्यो ठाउँका अधिकांश पुरुष रोजगारीको खोजीमा भारततिर छन् महिलाले नै घरव्यवहार चलाइरहेका स्थानीय शिक्षक गोपालदत्त भट्टले बताए। उनले भने, ‘रोपाई लाग्ने, वर्षमा तीन बाली फल्ने खेत बाँझो छोडनु परेको छ। गाउँ घर र भारतमा गएर ज्यालामजदुरी गरी गुजारा गर्न बाध्य छौं। हाम्रो समस्यालाई कसैले बुझेनन्।’

सिँचाइ कुलो भत्किएपछि देशमा चारपटक निर्वाचन भइसकेका छन्। सबै निर्वाचनमा प्रत्यक्ष या परोक्ष रूपमा मुन्द्रस्यालतडीबासीले आफूहरूको पुनःस्थापनामा माग राख्दै आएका छन्। ‘चुनावका बेला सबैले समस्या समाधान गर्ने आश्वासन दिन्छन् तर पछि कसैले हेर्दैनन्’, स्थानीयबासी चिन्तामणि भट्टले भने।

गत असारमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन र भर्खरै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा मुन्द्रेस्यालतडीबासीले उही माग दोहोर्‍याएका छन्। ‘मुन्द्रेस्यालतडीमा भत्किएको कुलो निर्माणका लागि पहल भइरहेको छ। हामीले केही बजेट विनियोजन गरेर यो कामलाई अघि बढाउँछौं।’ मेलौली नगरपालिकाका नगरप्रमुख कृष्णसिंह नायकले भने

मुन्द्रेस्यालतडीबासीको समस्याबारे आफू धेरै पहिलादेखि जानकार रहेको प्रदेश सभा क्षेत्रका नं २ बाट भर्खरै निर्वाचित भएका प्रदेश सांसद लीलाधर भट्टले बताए। उनले भने, ‘यो विषय कुन तहबाट समाधान हुन सक्छ। त्यसका लागि मैले गर्ने पहल अवश्य गर्नेछु। विस्थापित परिवारलाई आफ्नै गाउँमा फर्किने वातावरणका लागि सहजीकरण गर्छु। यद्यपि मसँग यो विषयमा औपचारिक रूपमा कुनै जानकारी छैन। तर पनि म यो समस्याबारे जानकार छु।’