पर्वतको भुकताङ्लेका युवा बाख्रा चराउन लैजाने तयारी गर्दै।
त्यसपछि भने उनी स्वदेशमै बाख्रापालन गर्न थाले। अहिले उनी जिल्लामै नमुना बाख्रापालक व्यवसायी बनेका छन्। तीन वर्षदेखि भुकताङ्लेस्थित तल्लो लप्सीबोटमा प्रगति एकीकृत बाख्रा फार्म सञ्चालनमा ल्याएका पौडेलले बाख्रा पालनबाट मनग्गे आम्दानी गर्दै आएका छन्। उनले एकै महिनाको अवधिमा ९० हजार रुपैयाँसम्म आम्दानी गरेको अनुभव सुनाए। ‘अहिलेसम्म लगानी गरे, अब आम्दानी दिन थालेको छ’, कृषक पौडेलले भने, ‘उत्पादन गरेका बोका आठ हजारदेखि १४ हजार रुपैयाँसम्ममा बिक्री गरेको जानकारी दिए।
बाख्राफार्ममा अहिले झण्डै ८० वटा बाख्रा रहेका छन्। झण्डै एक दर्जन बोका बिक्री गर्ने तयारीमा छन्। कम्तीमा एक सय वटा माहुँ बाख्रा बनाउने योजनामा उनी छन्। ‘एक वर्षभित्रै एक सय वटा माहुँ पाल्ने तयारीमा छु’, उनले भने। उत्पादन भएका बोका बिक्रीका लागि समेत कुनै समस्या नभएको उनी बताउँछन्। सदरमुकाम कुश्मा, पोखराबाट स्थानीय जातका बोकाको माग आउने गरेको उनले बताए।
स्थानीय खरिजातको बोकाको मासु कुश्मा र पोखरामा प्रतिकेजी एक हजारसम्ममा बिक्री हुने गरेको छ। व्यावसायिक बाख्रापालनमा पाँच लाख रुपैयाँ लगानी गरेका पौडेलले एक सय रोपनी जग्गा भाडामा लिएका छन्। उनले बाख्रापालनका लागि सात वर्षका लागि एक सय रोपनी जग्गा भाडामा लिएका छन्। यसको भाडा वार्षिक ५० हजार रुपैयाँ छ।
बाख्रा फार्ममा उनको परिवारसँगै एक जनालाई रोजगारी समेत दिएका छन्। बाख्राफार्ममा रोजगारी पाउने मनबहादुर बिकसमेत खुसी छन्। ‘रोजगारीका लागि विदेश जान पैसा छैन’, बिकले भने, ‘आफ्नै गाउँमा बिना लगानी रोजगारी पाउँदा खुसी छु।’ पौडेलले बिकलाई मासिक १० हजार दिने गरी रोजगारी दिएका हुन्। पौडेललाई बाख्राफार्ममा श्रीमती र छोराछोरीले सघाउने गरेका छन्। तीन छोरी र एक छोराका बाबु भुलबहादुर यसअघि पनि बैदेशिक रोजगारीमा गएर फर्केका हुन्।
०५७ सालमा कतार पुगेका उनी राम्रो आम्दानी नभएपछि डेढ वर्षभित्रै घर फर्केका थिए। ‘अब बैदेशिक रोजगारी भन्ने सुन्न पनि चाहन्न’, उनले भने,‘ वैदेशिक रोजगारीको नाममा मैले धेरै दुःख पाएँ।’
मेहनत र लगानी गर्ने हो भने घरमै बसेर पनि राम्रो गर्न सकिन्छ भन्ने अहिले आएर आफूमा सोच आएको उनले बताए। जिल्लामै सबैभन्दा बढी बाख्रा पालेपनि उनले सरकारी निकायबाट भने खासै सहयोग नपाएको बताए। उनले उक्त व्यावसायलाई अझै वृद्धि गरी वार्षिक पाँच लाख रुपैयाँसम्म नाफा आर्जन गर्ने योजना पनि बनाएको बताएका छन्।