
भारतको राजधानी नयाँ दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिलालाई पक्राउ गरी दिल्लीमै ल्याइएको छ । कुवेतबाट पक्राउ गरी फर्काइएका नेपाली महिलाको नाम लक्ष्मी, शोभा र रुपा रहेको जनाइए पनि उनीहरुको थर र ठेगाना खुलाइएको छैन ।
भारतीय अखबार ‘अमर उजाला’ले जनाएअनुसार तीनैजना नेपाली महिला अवैध रुपमा दिल्लीबाट कुवेत पुगेका थिए । उनीहरु नेपाल एयरलाइन्सको विमानबाट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र विमानस्थलबाट सोझै कुवेत जाने अर्को विमानमा चढेको बताइएको छ ।
अध्यागमनको आवश्यक प्रक्रिया पूरा नगरी उनीहरुले फर्जी कागजात प्रयोग गरेको जनाइएको छ । उनीहरुसँग खाडी देश जानका लागि आधिकारिक कागजपत्र नरहेको समाचारमा उल्लेख छ । उनीहरु कुवेत पुगेपछि फन्दामा परेका थिए । कीर्ते प्रक्रियाबाट कुवेत पुगेका उनीहरुलाई आवश्यक कारवाहीका लागि दिल्ली फर्काइएको छ । ती महिला हाल दिल्ली प्रहरीको नियन्त्रणमा रहेको र उनीहरुसँग सोधपुछ भइरहेको जनाइएको छ ।