मंसिर २६, २०७४-धनुषा क्षेत्र नम्बर १ बाट माओवादी नेता मातृका यादव निर्वाचित भएका छन् । संघीय समाजवादी फोरमका दीपक कार्कीलाई ९ हजार मतान्तरमा हराउँदै यादव निर्वाचित भएका हुन् ।
एमालेसहितको बाम गठबन्धनका उम्मेदवार यादवले २६ हजार ४ सय १८ मत पाउँदा कार्कीले १७ हजार २ सय ९६ मत पाए ।
द्वन्द्वकालमा लामो समय जेल बसेका यादव पहिलो संविधानसभामा समानुपातिक सांसद थिए । नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्र माओवादीमा एकीकरण भएपछि यादवले नेकपा माओवादी पार्टी गठन गरेका थिए भने सांसद पदाबाट राजीनामा दिएका थिए ।
दुई वर्षअघि फुटेका पाँचवटा माओवादी पार्टीबीच एकीकरण हुँदा यादव पुन: माओवादी केन्द्रमा फर्किएका हुन् ।