चर्चित संगीतकारको चिन्ता : हिट गीत बनाउन कहिलेसम्म बजारको पछि दगुर्ने?

In मनोरञ्जन
२४ मंसिर २०७४, आईतवार १३:०७
Nepal Live

 

आजका व्यस्त संगीतकार अर्जुन पोखरेल स्कुले जीवनमै ‘छुरा’ थिए। पढाइको कुरा अलग राखौं, उनमा संगीतको धार भने चम्किलो थियो। स्कुलका कार्यक्रम र अरु ठाउँमा गीत गाउन भनेपछि अघि सरिहाल्थे।

कुनै गीत सुनेर त्यही भाकामा गाउनु सामान्य कुरा भयो, अर्जुन भने अरुका गीत सुनेर आफैं मेलोडी बनाएर त्यसलाई नयाँ शैलीमा गाउँथे। यस्तो स्वभावले उनीभित्र संगीतकारको खुबी हुर्काइरहेको थियो।

संगीतप्रतिको रस भने उनको पारिवारिक वातावरणमै थियो। बुबा भजन गाउन हिँडिरहन्थे र बालन पनि गाउँथे। आमा रत्यौली र तीजका गीत गाउँथिन्।

कुनै गीतलाई आफ्नै धुनमा गाउने अर्जुनको प्रतिभा उनका मामाले उतिबेला ख्याल गरेका मदन मामाले भनेको कुरा उनी अझै सम्झन्छन् उनी, ‘भान्जा, तिमी गायक बन्छौ–बन्दैनौ थाहा छैन, तर एउटा राम्रो संगीतकार भने अवश्य बन्छौ।’

मामाले भनेको कुरा त्यतिबेला उनको कलिलो मगजमा घुसेन। उनलाई संगीतकार भनेको मेलोडी बनाउने नभई विभिन्न बाजा बजाउने मान्छे हो भन्ने लाग्थ्यो।

एसएलसी दिएर काठमाडौं आएपछि दायरा अलि फराकिलो भयो। आरआर क्याम्पसमा भर्ना हुँदा उनले संगीतलाई उनले औपचारिक विषय बनाएका थिएनन्। तर पनि उनी संगीतकार दीपक जंगमले पढाउने संगीतको कक्षामा नियमित बस्थे। कक्षामा विद्यार्थी टन्न हुने भएकाले राम्ररी सिक्ने अवसरै थिएन। सबै विद्यार्थी जस्तै उनी पनि एकोहोरो राग अलाप्थे।

उनी सम्झिन्छन्, ‘५०–६० जना बसेर हलमा कराइन्थ्यो। त्यो बेला मैले संगीत कति सिकेँ भन्ने थाहा छैन। तर संगीतको माहौल कस्तो हुनुपर्छ भन्ने चाहिँ बुझेँ।’

कलेजको हरेकजसो कार्यक्रममा उनी गीत गाउन तम्सिन्थे। बाजाको ताल नसमाती सुरु भइहाल्थे।

‘मलाई सुरुमा यसरी नै गायक बनिन्छ जस्तो लाग्थ्यो, तर बिस्तारै त्यो भ्रम टुट्दै गयो’, आफ्नो आलोकाँचो बुझाइ सम्झिँदै भने।

गाउँघरमा आफ्नै पारामा गाएर आएका उनले कलेजमा साथीहरुले हारमोनियम र गिटारमा सुर–ताल मिलाएर गीत गाइरहेको देख्दा कुनै मेसो नै पाएनन्। उनी गाउने नाममा सुरताल नपक्री एकोहोरो दौडिन्थे, साथीहरूले उनीसँग सुर मिलाउन सास्ती खेप्नुपर्थ्यो।

अखिल र नेविसंघ दुवैले नपत्याए पनि अखिल क्रान्तिकारीले उनलाई पत्यायो। ज्यानमा युवा जोस छँदै थियो, त्योभन्दा पनि गायन हुरुक्क भएर लागेका उनले गलाको नसा फुलाउँदै क्रान्तिकारी गीत गाए।

अर्जुनको यस्तो ताल देखेपछि केही साथीले उनलाई सम्झाए, ‘तँ यस्तो राम्रो गाउँछस्, तर तेरो टाइमिङ नै भएन। हारमोनियम सिक्।’

त्यसपछि हारमोनियम सिक्नुपर्छ भन्ने उनलाई लाग्यो।

उनीमा गाउने धोको थियो। क्याम्पसमा हुने सांस्कृतिक कार्यक्रम नै गाउने ठाउँ भए पनि स्ववियूमा अनेरास्ववियूको पकडका अगाडि उनको जोर चल्ने देखिएन। उनले गाउने मौका दिन अनेक आग्रह गर्दा पनि अवसर पाएनन्। पाऊन् पनि कसरी ? कलाकार प्रशस्त थिए र उनीभन्दा जान्ने अरु थिए।

अखिल र नेविसंघ दुवैले नपत्याए पनि अखिल क्रान्तिकारीले उनलाई पत्यायो। ज्यानमा युवा जोस छँदै थियो, त्योभन्दा पनि गायन हुरुक्क भएर लागेका उनले गलाको नसा फुलाउँदै क्रान्तिकारी गीत गाए–

‘भन्दिनू है भन्दिनू खबर मेरी आमालाई
ऊ लड्दै छ रे अघि बढ्दै छ रे
देशका निम्ति ऊ मर्दै छ रे।’

गीतबाट उनले राम्रो प्रतिक्रिया पाए। लगत्तै क्याम्पसमा लोक गायक खेमराज गुरूङको कार्यक्रम भयो । खेमको गायकी र फ्यानहरूमा परेको प्रभाव देखेर उनलाई लाग्यो– ‘वाह् यस्तो पो गीत!’

क्याम्पसको वातावरण र आफ्नो कमजोरीले उनलाई संगीतको औपचारिक शिक्षा लिनुपर्ने कुरा सिकायो। उनले सात वर्ष लगाएर शास्त्रीय, लोक, आधुनिक, र पाश्चात्य संगीत सिके।

संगीत सिक्दै उनले गाउनेभन्दा पनि मेलोडीहरू बनाउने काममा आफूलाई केन्द्रित गरे। उनी लोकगीतका क्षेत्रमा चिनिए। संगीत कम्पोजका साथै एरेन्जमेन्टको काम पनि गर्थे। तर, उनको सपना थियो, फिल्मको संगीतकार बन्ने।

त्यसका लागि अर्जुनको संघर्ष जारी थियो। मानिसहरूसँग भेटघाट गरिरहेका थिए। तर, कसैले उनलाई पत्याएका थिएनन्। त्यसमाथि फिल्मका धेरै मान्छेसँग उनको चिनजान नभएकाले सीमित दायराबाट मौका पाउन सम्भवै थिएन।

‘सुरूसुरूमा जस्तो कम्पोज बनाएर सुनाए पनि यो त लोकगीत भो भन्थे’, उनी विगत केलाउँछन्, ‘उनीहरूलाई त्यतिखेर मेरो गीत मन नपरेको भन्दा पनि ४०–५० लाखको फिल्ममा नयाँ संगीतकार लिन हिचकिचाएका रहेछन्।’

कसैले नपत्याइरहेका बेला एउटा फिल्ममा संगीत दिन पाउने अवसर आइपुग्यो। तर, ब्यानरका कारण उनी आफ्नो सिर्जनाको उचित कदर हुँदैन भनेर हच्किए। उनले छाडेपछि अर्कै संगीतकारले काम गरे। उनले हात झिके पनि फिल्ममा संगीत दिने उनको बाटो त्यही फिल्मले खनिसकेको रैछ।

सो फिल्मको प्रोडक्सनमा काम गरेका राजु गिरी आफैं फिल्म निर्देशन गर्ने तयारीमा रहेछन्। पहिलो कामको सिलसिलामा चिनजान हुँदा अर्जुनको क्षमतालाई राजुले पारख गरिसकेका रहेछन्।

राजुले फिल्मका लागि तीन वटा गीत मागे। आफूसँग भएका टन्नै मेलोडीमध्ये उनले केही दिए। अर्जुनको क्षमता चिनेका राजुले गतिलो फिल्म दिन नसके पनि गतिलो संगीतकार भित्र्याउने जस उनैलाई जान्छ।

फिल्मको ‘छुट्छ कि साथ टुट्छ कि नाता’ बोलको गीत चर्चित भयो। सिआरबिटीको माहौल भएको ०६७ सालताका सिआरबिटीबाट मात्र १५ लाख रुपैयाँ रोयल्टी आयो।

गीत हिट भए पनि फिल्म उद्योगमा उनी गुमनाम नै रहे। यस्तैमा राजुका साथी जीवन टण्डनले ‘जीवनसाथी’ फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका दिवाकर भट्टराईसँग भेट गराइदिए।

टण्डनको करबलले मात्र दिवाकर अर्जुनकोमा आइपुगेका थिए। गीत सुनेर राम्रो लागेन भने छाडेर हिँडौंला भनेर उनलाई टण्डनले मनाएर ल्याएका थिए। तर, अर्जुनको कम्पोजिसन सुनेपछि दिवाकरलाई जादुको काम गर्‍यो । उनी दंग परे, तत्काल प्रस्ताव गरिहाले, ‘तपाईंसँग यस्तो गजबको ट्यालेन्ट रैछ। मैले फिल्मका लागि तीन वटा गीत बनाइसकेको थिएँ। अब ती सबै हटाएर तपाईंकैं गीत राख्छु।’

अर्जुनले त्यतिबेला ‘सरर वेग मारी बेनीको बस आयो’, ’तिमीसँग रिसाएर कोइसँग नि बोल्दिनँ म’  र ’उत्तरै बग्ने त्यो काली नदी’ सुनाएका थिए। सबै गीत हिट भए। फिल्मको ब्यानर र स्टारकास्टले पनि गीतको लोकप्रियता बढाउन ठूलै सहयोग गरे।

‘प्रेमगीत’ पछि उनीमाथि सिंगो फिल्म उद्योगकै नजर सोझियो। आज ‘लभ’ र ‘स्याड’ गीत चाहियो भने धेरै निर्माता र निर्देशकको दिमागमा पहिलो नाम अर्जुनकै आउँछ।

लगत्तै राजु गिरीले ‘बिन्दास’ बनाउन लागे। त्यो फिल्मका ’रिमझिम रिमझिम’ र ‘बाटो मोडेर गयौ’ गीत निकै लोकप्रिय भए। सिआरबिटीको टप फाइभ गीतमध्ये माथिल्ला ३ गीत अर्जुनकै हुन्थे।

गीतहरू सफल भए पनि अर्जुन अझै ठूला ब्यानरमा परिसकेका थिएनन्। रोचक त के भने, उनका गीतहरूले अवार्ड जितिरहेका हुन्थे, तर अवार्ड समारोहमा उनलाई निम्ता आउँथेन। तर, नेफ्टा अवार्डमा उनले ’बिन्दास’ र ’जीवनसाथी’ फिल्मबाट केही अवार्ड जिते।

त्यसपछि दिवाकरले अर्जुनलाई आफ्नो दोस्रो फिल्म ‘स्टुपिड मन’मा लिए। सो फिल्मबाट उनले ७–८ वटा अवार्ड पाए।

‘त्यो फिल्म आएपछि भने धेरैको नजरमा परियो’, उनी सुनाउँछन्।

‘बिन्दास २’को ‘सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छ्यौ रे’ गीतले सफलताको मानक स्थापित गरिसकेको थियो। यस्तैमा उनको भेट चर्चित संगीतकार सुरेश अधिकारीसँग भयो। सुरेशले ‘छुट्छ कि साथ टुट्छ कि साथ’ गीत सुनेका रहेछन्। रेकर्डिङ स्टुडियोमा भेटिएका अर्जुनलाई सुरेशले भने, ‘तपाईंको मेलोडीको सेन्स असाध्यै मन पर्‍यो।’

सुरेशले अर्जुनको तारिफ व्यक्तिगत रूपमा मात्र नभई पछि सार्वजनिक रूपमा पनि खुलेर गरे। एउटा एल्बम विमोचनमा सुरेश अधिकारीलाई बोल्न लगाइयो। एल्बमको गीत नसुनेका उनले भने, ‘मैले भाइको एल्बमको गीत त सुनेको छैन, तर भाइको सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छ्यौ रे’ सुनेको छु। त्यो गीतको स्थायी र अन्तराबाट थाहा हुन्छ, अर्जुन भाइ एकदम ट्यालेन्ट संगीतकार हो।’

गनिएका संगीतकारबाट त्यस्तो प्रशंसा सुनेपछि अर्जुनलाई संसारै जिते जस्तो महसुस भयो।

बिस्तारै अर्जुनको फिल्मी क्षेत्रका मानिसहरुसँग चिनजान बढ्दै थियो। सुदर्शन थापासँग उनको चिनजान थियो। उनीसँग काम गर्न पाए आफूलाई प्रमाणित गर्न सक्छु भन्ने विश्वास अर्जुनको मनमा थियो।

फिल्मी संगीतमा आफ्नो माग बढेर महँगो र व्यस्त संगीतकार भए पनि उनी संमग्र फिल्मी संगीतको अहिलेको शैली देखेर सन्तुष्ट छैनन्।

‘चंखे शंखे पंखे’को तयारीमा रहेका सुदर्शनले लगत्तै बन्ने फिल्ममा काम गराउने आश्वासन दिए। अन्ततः अर्जुनको हातमा ‘प्रेमगीत’ फिल्म पर्‍यो। नेपाली फिल्मको संगीतमा जम्न त्यो खोजेजस्तै सुवर्ण अवसर भइदियो।

उनले फिल्ममा सबै प्रकारको गीत राखेका थिए। सुनाउँछन्, ‘मैले सुनाएका गीत सबै एक पटकमै ओके भए। सबै गीतहरू चले।’

‘प्रेमगीत’ पछि उनीमाथि सिंगो फिल्म उद्योगकै नजर सोझियो। आज ‘लभ’ र ‘स्याड’ गीत चाहियो भने धेरै निर्माता र निर्देशकको दिमागमा पहिलो नाम अर्जुनकै आउँछ।

फिल्मी संगीतमा आफ्नो माग बढेर महँगो र व्यस्त संगीतकार भए पनि उनी संमग्र फिल्मी संगीतको अहिलेको शैली देखेर सन्तुष्ट छैनन्।

‘सफ्ट गीत र लोकगीत अनिवार्य राख्ने चलनले चलचित्र संगीतजस्तो फिल नै हुँदैन, यसरी चलचित्र संगीतको स्तर बढ्दैन’, उनी औंल्याउँछन्, ‘हामी आफ्नै परिवेशमा मात्र रूमलिएर बस्नु भएन।’

अर्जुनका अनुसार, अहिले संगीतकारलाई मनदेखि चित्त नबुझे पनि बजारको माग अनुसारको हिट गीत बनाउनुपर्ने बाध्यता छ।

‘फरक खालका गीत पनि हिट हुनसक्छन् भनेर प्रमाणित गर्ने मौका मिलेको छैन। यो काम ठूला ब्यानरले गर्न सकेका छैनन्। उहाँहरू पनि बजारकै पछि हुनुहुन्छ’, उनले चिन्ता जनाए। ‘बाहुबली २’ वा सञ्जय लीला भन्सालीका गीतहरूको स्तरमा नेपालका संगीतकार पनि काम गर्न सक्षम भए पनि मौका नमिलेको उनको गुनासो छ।

नेपाली फिल्मी संगीतबारे उनी टिप्पणी गर्छन्, ‘हेर्दा पाइला बढेको देखिन्छ, तर यो हात्तीको सुड अगाडि गए जस्तो मात्र भइरहेको छ।’

अर्जुनको विचारमा नेपालको फिल्मको बजार फराकिलो भए अनुसार संगीतको हुन सकिरहेको छैन।

‘फिल्मी संगीतप्रतिको सोच परिवर्तन भएको छैन, नयाँ चिज गर्ने वातावरण छैन। फिल्मपिच्छे नयाँ चिज हुनुपर्ने हो, तर भएको छैन। म कति जनालाई भन्छु, तर उहाँहरू रिस्क लिन तयार हुनुहुन्न’, उनले भने।

आफ्नो मर्म कसैले नबुझेपछि अर्जुन पछिल्लो समय वैकल्पिक बाटोबाट आफ्नो मन खाने काम गर्ने तयारीमा छन्। व्यक्तिगत रूपमै उनले आफूले चाहेजस्ता संगीत पस्किने उनको सोच छ।