युएईको आबुधाबीमा दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड वितरण गरिएको छ । संगिक्षा फिल्म इन्टरटेन्मेन्ट र नमस्ते ट्राभल्सले गरेको कार्यक्रममा २२ बिधामा अवार्ड वितरण गरिएको हो ।
नेपालका कलाकारलाई १७ विधा र वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका नेपाली कलाकारलाई ५ बिधामा अवार्ड वितरण गरिएको हो । अवार्डको भिडियो समूहतर्फ उत्कृष्ट म्युजिक भिडियोमा कृष्ण गुरुङको हिमालको काखमा, भिडियो निर्देशनमा श्रीधर पौडेलको छम छम, छायाँकारमा प्रकाश गुरुङको हिमालको काखमा, सम्पादनमा प्रविण श्रेष्ठको मायालु मुहार तिम्रोलाई प्रदान गरियो ।
उत्कृष्ट मोडल पुरुष तर्फ विवेकसिंह ठकुरी, महिला तर्फ नम्रता सापकोटाको थाहा छैन, उत्कृष्ट कोरियोग्राफी शंकर बिसीको केटी पट्याउने, उत्कृष्ट नव प्रतिभा ट्यालेन्टको उपाधि प्रेम सेनको तिम्रो पाउजु र संजिव पराजुलीको नाइ मलाई थाहा छैन बोलको गीतले पायो ।
संगीत समूहमा रहेको उत्कृष्ट गायन पुरुषतर्फ त्रिलोक रानाको ‘काँडा छोए पूmल बन्छ’ बोलको गीतले पाएको छ । यस्तै उत्कृष्ट गायन महिलातर्फ प्राश्ना शाक्यको ‘म त सोझी सोझी’, उत्कृष्ट पप गायन पुरुष तर्फ दीपक बज्राचार्य, उत्कृष्ट पपगायन महिलातर्फ एञ्जिला रेग्मी, उत्कृष्ट शब्द दिलिप पियाको लठ्ठै बनायो, उत्कृष्ट संगीत सचिन सिंह शिरैमा सिरबन्दी, उत्कृष्ट व्यवस्थापन महराज थापाको ढुंगाको भर, उत्कृष्ट रेर्कडिष्ट किशोर थापाको काँडा छोए फूल बन्छ र उत्कृष्ट लोक दोहोरीको अवार्ड उजेली श्रेष्ठको कान्छी स्वास्नी बोलको गीतलाई प्रदान गरिएको थियो ।
नेपाली म्युजिक भिडियो सम्बन्धी विभिन्न विधामा प्रदान गरिएको अवार्डमा युएईमा क्रियाशील कलाकारहरूले समेत ५ विधामा उत्कृष्ट अवार्ड पाए । उत्कृष्ट मोडलको अवार्ड पुरुषतर्फ आशिष पुरुष र महिला तर्फ सारिका सुनारले हात पारे । यस्तै उत्कृष्ट म्युजिक भिडियोको अवार्ड नन्दु राई र गायिका रेखा घिमिरेलाई प्रदान गरिएको छ । उत्कृष्ट म्युजिक भिडियो लिरिक्सको उपाधि भने लक्ष्मण भान्तनाले पाए ।
उत्कृष्ट म्युजिक भिडियो निर्देशक विजय सुब्बा र उत्कृष्ट म्युजिक भिडियो छाँयाकारको अवार्ड रोहित विक्रमले प्राप्त गरे । त्यसैगरी लोकसंगीतको क्षेत्रमा योगदान दिएको भन्दै युएईका अन्य नेपालीलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका कलाकारहरूले प्रस्तुती दिएका थिए । कार्यक्रमका लागि नेपालबाट सपनाश्री, वीरेन्द्र हमाल, यशराज युएई आएका थिए । यस्तै गायक सृजना खत्रीले लाहुरे माया तथा गायक सुशान लिम्बूले सोल्टिनी गीत गाएका थिए ।
कार्यक्रममा हास्य कलाकार जितु नेपालले दर्शकलाई पेट मिचिमिची हसाएका थिए । गायक लोकनाथ सापकोटाका गीतमा दर्शक छमछमी नाचेका थिए भने नेपाल आइडलको उत्कृष्ट पाँचसम्म पुगेकी सुजाता पाण्डे र नायिका निरुता सिंहले गीत गाउँदा दर्शकले हुटिङ गरेका थिए ।
डाक्टरको लापरबाहीका कारण आखाँको ज्योति गुमाउन पुगेकी सृष्टि केसीको कथामा आधारित चलचित्र ‘ब्लाइन्ड डक्स’को बारे जानकारी दिँदै नायिका बिनिशा हमालले चलचित्रको गीत पनि सार्वजानिक गर्नुभयो ।
संगीक्षा फिल्म प्रालिका मनोज केसी तथा नमस्ते ट्राभल्सका एकेन्द्रबहादुर थापाको संयुक्त सभापतित्व, नेपाली दूतावास युएईका कार्यबाहक राजदूत नेत्रबहादुर टंडनको प्रमुख आतिथ्यता भएको कार्यक्रम नरेश भट्टराइले सञ्चालन गर्नुभएको थियो ।