मंसिर १६, २०७४-नजिकै सडक छ । सहकारी डिभिजन कार्यालयको मुलढोकामा कुर्सीमा वरिपरि हिटर ताप्दै आफ्ना साथीभाईलाई गफिई रहेका युवाहरु छन् । बाहिर चिसो सिरेटो चलेको छ । उनीहरु हिटर तापिरहेका छन् । भित्र बरण्डामा दुई बन्दुकधारी प्रहरी पहरा दिइरहेका छन् । बाहिर सशस्त्र प्रहरीले पहरा दिइरहेको छ । पल्लो भवनबाट चौविसै घण्टा सेनाले बन्दुक तेर्स्याएर बसेको छ ।
कार्यालयभित्र पस्ने मुलढोकामा नेपाल प्रहरी र म्यादी प्रहरी आँखा झिमिक्कै नगरी बसेका छन् । निन्द्रा जसलाई बढी लाग्छ नजिकै रहेको बिस्तरा पल्टाएर सुत्छन् । पार्टीले जिम्मेवारी ठूलो दिएको छ उनीहरुलाई ।
‘त्यो जिम्मेवारी हामी पूरा गर्दैछौ,’ वाम गठबन्धनबाट मतपेटीका कुर्न बसेका मुक्तिराज तामाङले भने, ‘पालैपालो गरेर बसेका छौं ।’ उनीहरुको साथमा दुईजना साथी छन् । नजिकै बसेका छन् लोकतान्त्रिक अर्थात कांग्रेसका साथीहरु ।
उनीहरु पनि चिसोबाट जोगाइन सँगै एउटै हिटर ताप्दै थिए । नजिकै दुइवटा छुट्टाछुटै विस्तारा उल्टाएर राखिएको छ । उनीहरु पनि निन्द्रा लागेपछि पालै पालो सुत्ने गरेको बताए । उनीहरुलाई दोस्रो चरणको निर्वाचन कहिले सकिएला र मतगणना होला भन्ने चिन्ता छ ।
दुवै पार्टीका कार्यकर्ता मतपेटीका कुर्न रातसाँझ भनेका छैनन् । बेलाबेलामा उनीहरुका नेता तथा उम्मेदवार अवलोकन गर्न आउछन् । उनीहरुले ३ सय ९६ मतपटीको रेखदेख गरिहेका छन् ।
त्यसैगरी दुईसय मिटर दक्षिण दुरीमा कोष तथा लेखा नियन्त्रक कार्यालय छ । त्यही कार्यालयमा बाहिर सेना, कार्यालयमा सशस्त्र र नेपाल प्रहरी र म्यादी छन् । पहिलो तल्लोको मतपेटीका शिल गरिएको ढोका नजिक ओछ्यान लगाएर पाटीका कार्यकर्ता र उम्मेदवार स्वयं ढोकामा बसेका छन् । निन्द्रा लागेपछि उनीहरु पालैपालो सुत्छन् । चिसो सिरेटो यहाँ छैन । उनीहरु कम्वल, स्लिपिङ व्याग सहित मतपेटीका कुरिरहेका छन् । जनमतको कदर आफैले गर्नुपर्छ ठानेर उनीहरुले जनताका मताधिकार जोगाउन बसेका छन् ।
‘जनताले दिएको अधिकार कुरेर बसिराको छु,’ निर्वाचन क्षेत्र नम्बर २ ख का उम्मेदवार हिरानाथ खतिवडाले सहित दुई जनाले ३ सय ८४ वटा मतपेटीका कुर्दै भने । काग्रेसका जीवन महर्जन पनि साथमै बसे । उनलाई पनि जनताको नासो कुर्नु परेको बताए ।
‘निन्द्रा नलागुन्जेल बस्छु,’ उनलेभने,‘निन्द्रा लागेपछि साथी बोलाउनु पर्ला ।’ काग्रेस पाटीको सूचीमा मतपेटीका कुर्ने धेरै छन् । तर कुर्न भने एकजनामात्रै देखिए । निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नं. १ को सिल गरेको ढोकामा प्लाई हालेर किल्ला ठोकेको छ । तर बाहिर झ्यालबाट भने बाक्सा छर्लङ देखिन्थ्यो ।