660 views 0 secs 0 comments

‘धर्मगुरु’को कर्तुत-यौनशोषणपछि आर्थिक ब्ल्याकमेलिङ

In देश, शिक्षा, समाज
१५ मंसिर २०७४, शुक्रबार १३:२५

मंसिर ५ गते चाल्नाखेलबाट पक्राउ परेका टुल्कु लामाले महिलालाई यौन शोषण गर्ने मुख्य उद्देश्य राखेर नै गुम्बा स्थापना गरेको निश्कर्षमा प्रहरी पुगेको छ।

लामाले एक्लै  चाल्नाखेलमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वा  स्थापना गरेर दश वर्षदेखि  चलाइरहेका थिए।

उनले आफूलाई गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्जन बताउँथे। दशौं पुस्तासम्म एउटै कुलमा जन्मिएको अवतारी लामा भएको उनको दाबी थियो।

उनी भन्थे- दैवी शक्तिका कारण मानिसहरूका रोगको उपचार गर्ने र उनीहरूका समस्या समाधान गर्न सक्ने क्षमता  मसँग छ।

पक्राउ परेपछि लामासँग लिएको बयान र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लामो समय  गरेको अनुसन्धानले लामाले महिलामाथि यौन शोषणको मुख्य उद्दे राखेर नै गुम्बा स्थापना गरेको  खुलेको हो।

‘धर्मको आडमा महिलालाई आफू अवतारी लामा भएको भन्दै उनले वर्षौंदेखि यौनशोषण गर्ने गरेको देखियो’ सिआइबी प्रमुख डिआइजी पुष्कर कार्कीले भने।

टुल्कु लामाले महिलामाथि यौनशोषण गर्ने मात्र होइन, यौनसम्पर्कपछि ब्ल्याकमेलिङ गरेर रकम असुल्ने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

उनले उपचार वा सहयोगका लागि गुम्बा पुगेका महिलामाथि यौन शोषण गर्ने र त्यसको भिडियो बनाएर राख्थे।

“पैसा नदिए शारिरिक सम्पर्कको भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै रकम माग गर्ने गरेको देखियो,” प्रहरी स्रोतले भन्यो।

कतिपय महिलालाई मानसिक दबाब दिएर गुम्बामा नै राख्ने गरेको पनि सिआइबीको अनुसन्धानमा खुलेको छ।

लामाले महिलामाथि यौनशोषण गर्ने गरेको भन्दै ८ वर्षअघि स्थानीयले गुम्बा तोडफोडको प्रयास गरेका थिए। तर  पर्याप्त प्रमाण नभेटेपछि प्रहरीले अनुसन्धान थाति राखेको थियो।

अहिले लामा पक्राउ परेपछि उजुरी गर्ने पीडितको संख्या बढिरहेको सिआइबीले जनाएको छ।

‘कतिपय महिलाहरु समाज र परिवारका डरले अझै खुल्न सकेका छैनन, उनीहरुलाई परामर्श दिने काम भइरहेको छ,’ अनुसन्धानमा खटिएका एक अधिकारीले सेतोपाटीसँग भने ।

पछिल्लो अनुसन्धानले  १२ रोपनीमा फैलिएको  लामाको गुम्बा पनि अवैध रहेको देखाएको छ।

‘त्यो गुम्बा बनाउन लामाले अनुमति नै नलिएको थाहा भएको छ,’  सिआइबीका एक अधिकारीले बने।

एक महिलाको उजुरीपछि सिआइबीले थालेको थियो अनुसन्धान 

उपचार गराउन त्यहाँ पुगेकी एक महिलाहरुले आफूलाई लामाले यौनशोषण गरेको उजुरी दिएपछि सिआइबीले अनुसन्धान थालेको थियो।

ती महिलाले उपचारका लागि भन्दै लामाले आफूलाई कोठामा लगेर निर्वस्त्र बनाएको र जबरजस्ती शारिरिक सम्बन्ध राखेको उजुरी दिएकी थिइन्।

महिलालाई यौनशोषण गरेपछि लामाले कसैलाई भने ठूलो क्षति हुने चेतावनी दिने गरेको पीडित महिलाहरूले बताएका छन्।

‘अरुलाई भने ठूलो क्षति हुन्छ, रोग फेरि बल्झिन्छ, आफूसँग मात्रै यौनसम्पर्क राख्नु,’ लामालाई उद्धृत गर्दै महिलाहरूले प्रहरीलाई  भनेका छन्।

प्रहरीका अनुसार लामाले विवाह नभएका युवतीलाई अरूसँग विवाह गर्न नदिने, गर्न परे उनको अनुमति लिनुपर्ने र नमाने आफूसँग भएको यौनसम्बन्धबारे सबैलाई भनिदिने धम्की दिन्थे।

उपचारका गर्न त्यहाँ पुगेकी एक विवाहित महिलालाई लामाले सो सँग बसिरहे रोग निको नहुने र रोग निको पार्न आफूसँग मात्रै सुत्नु पर्ने बताएका थिए।

पछि ती महिलालाई उनको श्रीमानसँग लामाले सम्बन्ध विच्छेद गराइदिएका थिए।

कतिपय महिलाका नग्न तस्बिर लामाले सामाजिक सञ्जालमा समेत पोष्ट गरिदिएको प्रहरीले जनाएको छ।

लामामाथि प्रहरीले जर्बजस्ती करणी र विद्युतीय कारोबार ऐनको मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।