887 views 0 secs 0 comments

नेपाल मेडिसिटीले तान्यो ३२ डाक्टर, कुन अस्पतालबाट को-को आए?

In देश, शिक्षा, समाज, स्वास्थ्य/जीवनशैली
१५ मंसिर २०७४, शुक्रबार १३:२८

ललितपुरको नख्खुमा अहिलेसम्मकै ठूलो लगानीमा बनेको अस्पताल नेपाल मेडिसिटीले देशभरका नाम चलेसहित ३२ जना डाक्टरहरुलाई तानेको छ।

‘एक अस्पताल एक डाक्टर’ नीति लिएको मेडिसिटीले काठमाडौंका नाम चलेका अस्पतालहरू ग्रान्डी, बयोधा, सहिद गंगालाल, बीएण्डबी लगायतकाबाट ३२ जना डाक्टर तानेको हो।

आर्कषक सेवा सुविधा दिएर डाक्टरलाई आफ्नो अस्पतालमा ल्याएको मेडिसिटी स्रोतले जानकारी दियो। मेडिसिटीमा आएका डाक्टरहरुले अन्य अस्पताल र क्लिनिकमा काम गर्न पाउने छैनन्।

पूर्ण समर्पणका साथ डाक्टरहरुले एउटै अस्पतालमा काम गरून् भनेर अन्य ठाँउमा काम गर्न नदिने नीति लिएको अस्पतालले जनाएको छ।

नेपाल मेडिकल कलेज, सिनामंगलका प्रिन्सिपल तथा बरिष्ठ सर्जन प्राध्यापक डाक्टर सुनिलकुमार शर्मा ढकाल मेडिसिटीमा आएका छन्। केएमसीका डाक्टर निरा सिंह श्रेष्ठ, शिशिर लाखे र तोरण केसी पनि हाल मेडिसिटीमा आबद्ध भएका छन्। त्यस्तै ग्रान्डी अस्पतालका डाक्टर संजय कार्की पनि नेपाल मेडिसिटीमै आबद्ध भएका छन्।

पाटन अस्पतालमा कार्यरत सूचिता श्रेष्ठ जोशी, डाक्टर गोपी अर्याल मेडसिटी आएको अस्पताल प्रशासनले जनाएको छ।

सुमेरू अस्पतालमा रहेका डाक्टर बाबुराम पोखरेललाई पनि भित्र्याएको मेडसिटीले ओम अस्पतालमा रहेका डाक्टर लवनाथ जोशी पनि मेडिसिटीमा आएका छन्।

सहिद गंगालालका डाक्टर विजय राजवंशी, डाक्टर दिप्तेश अर्याल, रन्जितकुमार शर्मा, डाक्टर अपूर्व शर्मा, साजन गोपाल वैद्य सँगै बयोधाका डाक्टर निरज सिंह, अन्ना शर्मा, प्रतिभा श्रेष्ठ पनि आएका छन्।

बिएण्डबीमा रहेका डाक्टर महेश बहादुर अधिकारी, पकंज बरमनसँगै वीरमा रहेका डाक्टर गोपाल रमन शर्मा पनि आएका छन्।

विराटनगर आँखा अस्पतालमा कार्यरत डाक्टर पूजा लामा पनि मेडिसिटीमा कार्यरत छन्।

मनिपाल अस्पतालका उमिद कुमार श्रेष्ठ आउँदा शिक्षण अस्पताल महाराजगंजका रामकुमार घिमिरे मेडसिटी भित्रिएका छन्।

निर्वाणा वेलनेशकी डाक्टर मिन्मी गिरी, ग्रान्डी सिटीका  डाक्टर राज रानालाई पनि मेडिसिटी तानेको छ।

त्यस्तै नाम चलेका डाक्टर सम्पूर्णमान तुलाधर,कुनाल विक्रम शाह,भुवन कायस्थ पनि मेडिसिटीमा जोडिएका छन् ।

गैरआवासीय नेपालीका संस्थापक उपेन्द्र महतोको लगानीमा डेढ महिना अघि अस्पताल सञ्चालनमा आएको हो। अस्पताल ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ।

३० रोपनी क्षेत्रफलमा आधुनिक भवन छ। हाल ओपिडीमा दैनिक २ सयभन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।

हाल ३०० शैयामा संचालनमा रहेको अस्पतालले यसलाई बढाएर ७५० पुर्‍याउने लक्ष्य राखेको छ। अस्पतालले हेलिकप्टरबाट आउने इमर्जेन्सी बिरामीका लागि लक्षित गर्दै दुई हेलिप्याड बनाएको छ।

अस्पतालको भवनमाथि एक र तल अर्को एक हेलिप्याड सञ्चालनमा आइसकेको छ।

हाम्रो उपचार महँगो छैन – नेपाल मेडिसिटी

दुर्गम क्षेत्रबाट पनि विरामीहरु उद्धार गर्नका लागि यस अस्पतालको इर्मजेन्सी रेस्क्यू टिम तयार गरेको जनाएको छ।

यस टिमले उद्धार गरेर विरामीहरुलाई अन्य अस्पतालमा पुर्याउने सेवा पनि प्रदान गर्दछ। आकस्मिक उद्धार सेवामा डाक्टर संजय कार्कीको टीम २४ सै घन्टा उपलब्ध छ।

यस अस्पतालले बोनम्यारो, मृगौला तथा कलेजो प्रत्यारोपणसम्मका सेवा दिने लक्ष्य राखेको  छ। एमआरआई,प्याथोलोजी ल्याव, सिटी स्क्यान, एक्मो, इन्डोस्कोपिक अल्ट्रासाउण्ड साथै अत्याधुनिक मोडुलर अप्रेसन थ्रिएटर  र ब्लड बैंक अस्पतालमा छन्।

अस्पतालमा तीन टेस्लाको सिमेन्स स्काइरा एमआरअआइ मेसिन छ । यो नेपालमा पहिलो पटक आफूहरुले  भित्र्याएको अस्पतालको दाबी छ। यो सँगै जिम्मर फिजियोथेरापी उपकरण पनि अस्पतालमा छ।

यस अस्पतालमा इमेजीङ्ग सम्बन्धि सम्पूर्ण सुविधा उपलब्ध छ। यस सँगसँगै अस्पतालमा इन्टरभेन्सनल रेडियोलोजी सम्बन्धी सुविधाहरु पनि उपलब्ध छ।

अस्पतालको ल्यावमा अत्याधुनिक उपकरण र सामग्रीहरु छन् । यसका साथै अस्पतालमा क्यान्सर रोग पत्ता लगाउन प्रयोग गरिने इमिनो विश्वस्तरीय इम्युनोहिस्टोकेमेस्ट्री उपकरण पनि उपलब्ध छ ।

अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छोटो समयमा नै ग्रेड ए को सर्टिफिकेट पाएको छ। ग्रेड ए को सर्टिफिकेट पाउने पहिलो अस्पताल मेडिसिटी हो।