
१० मंसिर, काठमाडौं।
पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो ।
आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले केन्द्रले आयोगलाई विवरण बुझाएपछि विज्ञापन खोल्ने जानकारी दिए । उनले भने– ‘विवरण आएपछि आरक्षणको लागि प्रतिशत छुट्टयाएर विज्ञापन खोल्नेछौं । आयोगले ढिलोमा पुस मसान्तसम्ममा विज्ञापन खोल्ने तयारी गरेको हो ।’
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले केन्द्रको नियमित प्रक्रियाअन्तर्गत देशैभरका जिल्ला शिक्षा समन्वय इकाईले उपलब्ध गराएको विवरणअनुसार केन्द्रले रिक्त शिक्षकको तथ्याङ्क सार्वजनिक गरेको बताए ।