केही समय यता विदेशबाट फोन आउँदा समेत नेपालकै नम्बर देखिने समस्या देखिएको छ ।
अवैध मार्गबाट आउने यस्ता कलले कम्पनी र सरकारकै राजश्वमा समेत असर पर्ने भन्दै नेपाल टेलिकमले ध्यानकार्षण गरेको छ ।
नेपाल टेलिकमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाल टेलिकमका मोबाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा यस्तो कल अबैद्य मार्गबाट आएको हुने बताएको छ । यसरी आउने कलको गुणस्तर कमजोर हुनुको साथै राजस्व समेत छलिएको हुने नेपाल टेलिकमकी प्रवक्ता प्रतिधा वैद्यले जनाउनुभएको छ ।
विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्रयाक गर्न कठिन हुने भएकोले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा हुने टेलिकमले जनाएको छ । त्यस्तै पछिल्लो समय ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै विभिन्न सेवाग्राहीलाई गरिएका कलहरुमा समेत यस्ता नम्बर प्रयोग भएको पाइएको छ ।
यदि विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोवाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी त्यो नम्बर टिपाइदिन टेलिकमले सम्पूर्ण ग्राहकमा अनुरोध गरेको छ