14 views 4 secs 0 comments

दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाखको बिजुली भारत निर्यात

In देश, सूचना-प्रबिधि
५ आश्विन २०८०, शुक्रबार ०१:३१

काठमाडौँ , असोज ५ ।

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ बराबरको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो ।

दुई महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँ बराबर (पाँच अर्ब ४३ करोड ३१ लाख रुपैयाँको) विद्युत् निर्यात भएको हो । साउन र भदौमा भारततर्फ निर्यात गरिएको विद्युत्‌को प्रतियुनिट औसत बिक्रीदर क्रमशः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्रीदर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेडलाई बिक्री गरिरहेको छ ।

 

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनटीपीसीलाई ११० मेगावाट गरी कुल ६ सय ३२ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताए । ‘देशमा उत्पादित विद्युत् यहीँ खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौँ, विद्युत् नपुगेका ठाउँमा विद्युत् पुर्‍याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘खपत गरी बचत भएको विद्युत् निर्यात गर्न दुई देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्णरूपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौँ।’